गीत र भिडियो आकर्षक बनाउन मिक्सिङ/माष्टरिङको महत्वपूर्ण स्थान रहेको हुन्छ । यही विधामा नेपाली कला क्षेत्रमा आफूलाई अब्बल स्थानमा राख्दै आएको नाम हो मनोज परियार । गीतसंगीत, चलचित्र वा विज्ञापन उत्कृष्ट बनाउनका लागि मिक्सिङ र माष्टरिङको महत्वपूर्ण भूमिका रहेको हुन्छ । गीतमा सम्पादन अर्थात् मिक्सिङ सबैभन्दा महत्वपूर्ण पाटो हो । यस विधामा लामो समयदेखि अब्बलरूपमा परियारले काम गर्दै आइरहनुभएको छ । उहाँले यस विधामा आफूलाई अग्रस्थानमा राखेर काम गर्दै आउनुभएको छ । उहाँ नेपालका राम्रा सम्पादकका रूपमा परिचित हुनुहुन्छ । विसं २०७० सालदेखि निरन्तर यो क्षेत्रमा रहनुभएका उहाँ सात सयभन्दा बढी गीतमा मिक्सिङ गरेको बताउनुहुन्छ । लमजुङको भोटेओडार-३ बल्चुगमा बुबा रामचद्र दमाई र माता जुना दमाईको कोखबाट विसं २०५१ साल फागुन ३ गते जन्मिनुभएका मनोज यति बेला काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना सिर्जना कर्ममा सक्रिय हुनुहुन्छ । उहाँले ध्वनि सम्पादनका विभिन्न प्रशिक्षण लिएर आफूलाई यो क्षेत्रमा निखारताका साथ अघि बढाइरहनुभएको छ । समयानुसार कामलाई ध्यान दिँदै कर्मशीलता, लगनशीलता र निरन्तरताले आफूले सफलता चुम्दै गएको उहाँको दाबी छ । संगीतका नोटहरूको अध्ययन गर्दै नयाँ-नयाँ खोजमा तल्लीन परियार यो क्षेत्रले आफूलाई धेरै दिएको बताउनुहुन्छ । यस विधामा आफूलाई समर्पित गर्नुभएका उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । नेपाली गीतसंगीतको क्षेत्रमा पुर्याएको योगदानस्वरूप थुप्रै मान-सम्मान, अवार्ड र पुरस्कार प्राप्त गर्न सफल मनोज परियारसँग हिमाल टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंश :-
अहिले के गर्दै हुनुहुन्छ ?
अहिले गीतहरू मिक्सिँग माष्टरिंग गर्ने कामहरू गरिरहेको छु ।
यहाँ कहिलेदेखि यो क्षेत्रमा हुनुहुन्छ ?
म यो क्षेत्रमा पूर्णरूपमा विसं २०७० सालदेखि छु ।
यो क्षेत्रमा कसरी आउनुभयो ?
मलाई सानैदेखि गीतसंगीत क्षेत्रमा रुचि भएका कारण मेरो यो क्षेत्रमा आउने धेरै चाहाना भएकाले म गोरखा जिल्लाबाट एसएलसीपछि अध्ययनको सिलसिलामा काठमाडौं आए । सोही क्रममा साथीको गीत रेकडिङको बेला स्टुडियो जाने मौका मिल्यो त्यहाँ गएपछि अझ मलाई यस क्षेत्रप्रति आकर्षण भयो अनि मैले त्यही केही सिक्ने तथा कार्य गर्ने कुरामा डिका गुरुङ दाइसँग जिज्ञासा राखे उहाँले मेरो चासो देखेर सहजै स्वीकार्नुभयो डिका गुरुङ दाइ कै असिष्टेन्टको रूपमा काम गर्दै रेकडिङसम्बन्धी सिक्ने मौका मिल्यो केही समयपछि रेर्कडिष्टको काम सम्हाले । छोटो समयमै मेरो कामप्रतिको लगाव र मेरो सिकाइले डिका गुरुङ दाइले मलाई डिजिटल काठमाडौं स्टुडियोको सम्पूर्ण जिम्मा दिनुभयो । अनि मैले चाँडै मिक्सिङ माष्टरिङको कामको थालनी गरे र छोटो समयमै मैले गरेका मिक्सिङ माष्टरिङका कामहरूलाई कलाकार तथा सर्जकले मनपराइ दिनुभयो र कामहरूले सफलता पाए । त्यसपछि मैले रेकर्डिङ गर्ने कार्यहरू कम गर्दे मिक्सिङ माष्टरिङलाई निरन्तरता दिए र अहिले मैले मिक्सिङ माष्टरिङ गर्ने कार्य निरन्तर चलिरहेको छ । अब यसरी नै यस क्षेत्रमा आए भन्नुपर्छ ।
ध्वनि मिक्सिङ माष्टरिङको महत्वबारे प्रष्ट्याइदिनुहोस् न ?
गीतसंगीतको क्षेत्रमा मिक्सिङ माष्टरिङको ठूलो महत्व छ । यो बिना गीतसंगीत अपूरो नै हुन्छ । किनभने मिक्सिङ माष्टरिङ भनेको गीत संगीतको अन्तिम चरण हो र गीत कस्तो हुन्छ भन्ने मिक्सिङ माष्टरिङले तय गर्छ । अझ भनौं मिक्सिङ माष्टरिङ गरेपछिमात्र गीतसंगीतले पूर्णता पाउँछ । जब एउटा गीतलाई तयार पार्न गीतकारको शब्दमा संगीतकारले संगीत भर्नेकाम गर्छन त्यसपछि त्यही संगीतलाई म्युजिकली रूपमा रूपान्तरया गर्न म्युजिक एरेन्जरकोमा पुग्छ त्यसको एरेन्ज गरिन्छ । त्यसपश्चात् रेकडिङ स्टुडियोमा एरेन्ज फाइल राखिन्छ त्यसपछि रेकडिङको कार्य सुरुहुन्छ त्यसमा एरेन्जरले डिजाइन गरेको उक्त गीतको फाइलमा लाइभ बाजा भर्नेकाम गरेपछि ट्रयाक तयार हुन्छ त्यसरी तयार भएको ट्रयाकमा संगीतकारको निर्देशनमा गायक तथा गायिकाले आफ्नो आवाज भर्छन । यसरी तयार गरिएको प्रक्रियाले अझै पनि पूर्णता पाएको हुँदैन त्यो अझै काचो नै हुन्छ । रेकर्डिङको क्रममा छरिएका विभिन्न ट्र्याकमा रेर्कड भएका एरेन्जरको प्रोग्रामिङबाट आएका ट्र्याकहरू, लाइभ बाजाहरू, गायक गायिकाको आवाज छरिएर रहेको अवस्थामा हुन्छन् यसलाई एक ढिक्कामा बाध्ने कार्य भनेको मिक्सिङ हो । मिक्सिङमा रेकर्डिङपश्चात् एक ढिक्कामा गरिएका ट्र्याकहरूलाई सिघार्ने कार्य गरिन्छ जसमा प्रोग्रामिङबाट आएका ट्र्याकहरू, लाइभ बाजाहरू, गायक गायिकाको आवाजको विभिन्न प्रक्रियाबाट एकअर्काको अनावश्यक ध्वनिहरूलाई नियन्त्रण गरी ट्र्याकलाई सुन्न योग्य बनाएर एउटै ट्र्याकमा तयार पारिन्छ । यसरी मिक्सिङबाट तयार पारिएको एउटा मिक्स ट्र्याकलाई फाइन ट्युनगर्ने कार्यलाई माष्टरिङ भनिन्छ । यसरी माष्टरिङ भएपछि गीत तयार हुन्छ र गीतले पूर्णता पाउँछ ।
अहिलेसम्म आउँदा कति जति सिर्जनामा मिक्सिङ माष्टरिङ गर्नुभयो ?
मैले पूर्णरूपमा मिक्सिङ माष्टरिङ कार्यको सुरुवात गरेको २०७० सालदेखि हो । सो अनुसार अहिलेसम्म मैले निरन्तर गरेको कार्य अनुसार ७०० भन्दा बढी गरिसकेको छु ।
अध्ययन कत्तिको गर्नुहुन्छ ?
अध्ययन भन्ने कुरा जति नै गरे पनि कमी नै हुन्छ । आज हरेक दिन नयाँ-नयाँ प्रविधिको विकास भइरहेको छ । त्यसका बारेमा आफूलाई आवश्यक जानकारी राख्ने चासो त छँदै छ । फेरि हाम्रो जस्तो कार्यमा आफूलाई अपडेट राख्नका लागि अध्ययन आवश्यक रहन्छ । गीतको मिक्सिङ माष्टरिङ कार्य हिजोभन्दा आज धेरै फरक छ । म आफू अध्ययनमा रुचि नै राख्ने भएकाले पनि आफूलाई फुर्सद मिल्यो भने अध्ययनमा आफूलाई तल्लीन बनाउँछु ।
तपाईंका कार्यलाई घरपरिवारबाट कत्तिको सपोर्ट मिलेको छ ?
उहाँहरूको साथ सहयोगले नै मैले आजको दिन चुम्न सफल भएको छु । मेरा हरेक कार्यका लागि उहाँहरूको साथ सहयोग रहँदै आएको छ ।
यस क्षेत्रमा यहाँले पुर्याएको योगदानस्वरूप थुप्रै मान-सम्मान, अवार्ड र पुरस्कार प्राप्त गर्नुभएको छ, कस्तो लाग्छ फर्केर हेर्दा ?
तपाईंले भनेजस्तै मैले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै धेरै मान-सम्मान, अवार्ड र पुरस्कार प्राप्त भएका छन् । यसले खुशी लाग्छ । थप जिम्मेवार महसुस गराउँदछ । अझ प्रेरणा मिल्ने गर्दछ । एक समय यस्तो पनि थियो धेरैलाई मिक्सिङ माष्टरिङ भन्ने नै थाहा थिएन तर अहिले परिवेश फरक भएको छ । यसको महत्व सबैले बुझ्दै जानुभएको छ । विदेशमा त यसको निकै महत्व छ । तर, हामी कहाँ पनि विस्तारै यसको महत्वलाई स्थान दिँदै गएको पाउँछु म ।
तपाईंका मूख्य व्यापारिक सफलता पाएका गीतहरू कुन-कुन हुन् ?
अहिले त धेरैजसो गीतहरूले राम्रो नै सफलता पाएका छन् तीमध्ये ‘जलजला, भीरमाहुरी, जोवन, निरमाया ठूली, सानीमाया, उडेको चरी, मुसुक्कै हाँसन, मख्खै पर्छु मत, नयाँ गलबन्दी, पर्म लाउलानी, बिस्तारै बिस्तारै, राजा रानी, इतिहास, मुटुको धड्कन, सत्ता दाउ, पातली ३, स्वर्गकी अप्सरा, थर दिन्छौ र, बुझिदेउ, मभन्दा नी ३, नाई नभन न, बदमाश, ओहे बात मन पर्ना, मन मिलेसँगै भागौला, गागरी’लगायत चलचित्र ‘दिलमाया २, चिठ्ठी, मन परेको फूल, ब्ल्याक छाँया, नन्दी’लगायत गीतहरूले सफलता पाएका छन् ।
नेपाली गीतसंगीतको विश्व-बजारमा कस्तो स्कोप, भूमिका रहेको छ ?
पछिल्लो समयमा नेपाली गीतसंगतीले पनि विश्व बजारमा राम्रो छाप छोड्न सफल भएको छ । नेपाली गीतहरूको विश्व बजारका स्रोताहरूको पनि संख्या उक्तिकै बढिरहेको छ । पछिल्लो समयमा त झन् नेपाली गीतहरू ग्लोबल ट्रेडिङमा पर्न सफल भएका छन् । यसरी हेर्ने भने नेपाली गीतहरूको विश्व बजारमा माग बढ्दै गएको छ । विदेशी नागरिकले पनि नेपाली गीतहरू गाउने र बजारमा ल्याउने काम पनि निरन्तर बढिरहेको छ । यसरी हेर्दा नेपाली गीतसंगीतको विश्व बजारमा मोह बढ्दै गएको छ ।
गीतसंगीतमा मिक्सिड मास्टरिङको कस्तो भूमिका हुन्छ ? तपाईंले कुन विघाका गीतहरूमा बढी काम गर्नु भएको छ ?
गीतसंगीतमा मिक्सिड मास्टरिङको भूमिकाको कुरा गर्नु पर्दा तपाईं हामीलाई थाहा भएकै कुरा हो गीतको पहिलो केही टिप्पणीहरूले श्रोतामा प्रभाव पार्ने प्रभावले महत्वपूर्ण भूमिका खेल्छ । मिक्सिङ र मास्टरिङ गीत उत्पादनका अभिन्न अंग हुन् । एक राम्रो-मिश्रित र महारत ट्र्याक एक पेशेवर, मनमोहक ध्वनि र गहिराईको अभाव भएको शौकिया रेकर्डिङबीचको भिन्नता कारक हुनसक्छ । गुणस्तर मिश्रणले सन्तुलित उपकरण, समान आवृत्ति र अधिकतम प्रभावका लागि अनुकूलित स्तरहरू सुनिश्चित गर्दछ । अर्कोतर्फ, मास्टरिङले धेरै ट्र्र्याकमा स्थिरता सुनिश्चित गर्दै र स्पष्टता र लाउडनेस बढाउँदै अन्तिम पोलिश प्रदान गर्दछ । अनुभवी इञ्जिनियरहरू मिक्स र मास्टरिङमा निर्णायक हुन्छन्, प्रत्येक गीतको विवरण सही रूपमा खिच्न प्राविधिक विशेषज्ञता प्रदान गर्छन । शीर्ष-निशान सफ्टवेयर, हार्डवेयर र विधा-स्प्यानिङ अनुभवको वर्षको पहुँचको साथ, व्यावसायिक मिक्स र मास्टरिङ इन्जिनियरसँग वस्तुनिष्ठ कान छन् जसले अप्रशिक्षित श्रोतालाई नबुझ्ने समस्या पहिचान गर्नसक्छ । संक्षेपमा, अनुभवी पेशेवरबाट गुणस्तरीय मिश्रण र निपुणता सेवाहरूमा लगानी गर्नाले तपाईंका गीतहरूलाई अभूतपूर्व उचाइमा पुर्याउँछ, तपाईंलाई सामान्यबाट अलग राख्छ र तपाईंलाई एक कलाकारको रूपमा स्थापित गर्दछ जसले सामान्यतामा उत्कृष्टतालाई महत्व दिन्छ । अब विधाको कुरा गर्नुपर्दा मैले लोक, लोकदोहोरी, आधुनिक, पप, शास्त्रीय, चलचित्र र विभिन्न भाषाभाषिका र केही हिन्दी गीतमा पनि काम गरेको छु ।
तपाईले आफ्नो पेशाबाट पाएका हालसम्मका उपलब्धि के-के हुन् ? र कुन-कुन संस्थामा नेतृत्वदायि भूमिकामा आबद्ध हुनुहुन्छ ?
आफ्नो पेशाबाट हालसम्म सन्तुष्टि र सफलता त पाएकै छु तीमध्ये तारकेश्वर राष्ट्रिय व्यक्तित्व तथा कलाकार सर्जक सम्मान-२०७९ (तारकेश्वर कला प्रतिष्ठान, राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा विशेष सम्मान-२०८० (रिवन इन्टरटेनमेन्ट), मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान-२०७९ (मिलाप राष्ट्रिय मासिक पत्रिका), हिमालयन इन्टरनेशनल गीतसंगीत सम्मान-२०२२ (विमेन्स इरा मिडिया), सगरमाथा सम्मान-२०७९ (अर्थ नेपाल प्रा.लि.), नेशनल क्यापिटल गीतसंगीत सम्मान-२०७८ (क्यापिटल इन्टरनेशनल मिडिया), राष्ट्रिय ध्वनि मिश्रण योगदान सम्मान-२०७८ (विलक्षण क्रियशन), संगीतकर्मी सम्मान-२०७८ (अधिराज्य मिडिया नेटवर्क), ध्वनि मिश्रण सम्मान-२०७९ (एक्टिभ इन्टरटेनमेन्ट प्रा.लि.) ‘जिनियस म्युजिक अवार्ड-२०७६’, ‘ज्योति फिल्म एण्ड म्युजिक अवार्ड-२०७७’, ‘छायाछवि तीज म्युजिक अवार्ड-२०७८’, ‘निम म्युजिक अवार्ड-२०७८’, ‘रारा म्युजिक अवार्ड-२०८०’ लगायतबाट पनि विभूषित भएको छु । साथमा दोस्रो स्पाइनी ब्याबलर इन्टरनेशनल फिल्म फेष्टिभल-२०२२’, ‘म्युजिक एण्ड फेशन अवार्ड २०७८’, ‘नेपाल अफ्रिका फिल्म फेष्टिभल २०२३’, ‘तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ आदिमा निर्णायक ( जुरी )को भूमिकामा पनि आबद्ध भएको छु । यसैगरी पेशागत-विधागत रूपमा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छु जस्तै लोक सांस्कृतिक संघको सहसचिव, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको सदस्य, कला साहित्य सञ्जालको सदस्य, नागरिक समाजको मानार्थ सदस्य आदिमा आबद्ध रहेको छु ।
तपाईंले आफ्नो पेशामा उच्च पारिश्रमिक लिनुहुन्छ भन्ने सुनिन्छ नि ?
मैले कुनै पनि कामलाई अध्यन र मिहिनेतका साथ गर्ने भएकाले मैलै गरेका कामहरूलाई मैले आफूले उत्कृष्टता दिएका कारण हो । अझ भनौ यसको राज मेरो कामप्रतिको लगाब, सफलता र उत्कृष्टता नै हो ।
अबको यहाँको योजना ?
यसै क्षेत्रमा अझै नयाँ-नयाँ क्रियशन गरौँ भन्ने नै अबको मेरो योजना छ । नेपाली गीतसंगीत, चलचित्रलाई मिक्सिङ माष्टरिङमा विशेष उचाइमा पु¥याउन अझै नयाँ-नयाँ क्रियशन गर्ने नै हो ।
यो क्षेत्रमा आउन चाहनेका लागि के भन्न चाहनुहुन्छ ?
मिक्सिङ माष्टरिङ कार्य धेरै नै उत्तम कार्य हो । यसमा दुई कुराको ज्ञान हुन अति आवश्यक छ । यसमा साउण्डका साथसाथै म्युजिकको पनि ज्ञान हुनु जरुरी छ । साउण्डमा राम्रो ज्ञान छ तर म्युजिकमा छैन भने त्यो अपूर्ण रहन्छ । धेरैले म्युजिकको राम्रो ज्ञान नहुँदा यो क्षेत्रमा आएर पनि पछि छोडेको मैले पाएको छु । यो क्षेत्रमा राम्रो गर्न सक्छु भन्ने तपाईंमा लाग्छ र म्युजिक एवं साउण्डको ज्ञान छ भने आउन सक्नुहुन्छ । राम्रो छ भन्न चाहन्छु ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts