आइटीमा ब्याचलर गर्नुभएका आर्जन पाण्डे गायकका रूपमा यतिबेला चर्चा पाइरहनुभएको छ । ‘ओइलिएर झर्न दिन्न...’ गीतमार्फत् नेपाली गायन क्षेत्रमा पाइला अघि बढाउनुभएका उहाँका आजसम्म आइपुग्दा थुप्रै गीत श्रोता/दर्शकमाझ आएका छन् । एक दशकदेखि निरन्तर नेपाली गीत संगीतमा लाग्नुभएका उहाँका ‘तिमीलाई हेरी-हेरी,’ ‘डलर’ ‘घाँटीभन्दा तल,’ ‘रेलिमाई’, ‘परेली झिमिक्कै’ जस्ता गीत औधी रुचाइएका छन् । उहाँको हालै ‘सम्झनामा’ र ‘किन किन’ दुई गीत श्रोता/दर्शकमाझ आएका छन् । आफ्ना गीतमा मोडलिङमा पनि देखिने गर्नुभएका उहाँको अभिनयले पनि चर्चा पाउने गरेको छ । गायन नै हो आफ्नो प्राथमिकता रहेको र मोडलिङ गर्न पनि रुचि राख्ने बताउनुहुने गायक आर्जन पाण्डेसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला के गर्दै हुनुहुन्छ ?
गीत संगीतका क्षेत्रमा नै आफूलाई व्यस्त राख्दै आएको छु ।
पछिल्लो समय यहाँको स्वरमा रहेका दुई गीत ‘सम्झनामा’ र ‘किन किन’ श्रोता/दर्शकमाझ आएका छन् । कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
हो, यहाँले भनेजस्तै दुई ‘सम्झनामा’ र ‘किन किन’ हालै श्रोता/दर्शकमाझ आएका छन् । ‘सम्झना’ चाहिँ अलिकति स्याड लभ स्टोरी टाइपको गीत छ भने ‘किन किन’ चाहिँ नयाँ पुस्तालाई लक्षित गीत छ । यी दुवै गीतको प्रतिक्रिया राम्रै आइरहेको छ । रिल र टिकटकमा पनि राम्रै गइरहेको छ ।
गायनलाई नै हो मेरो प्राथमिकता । म मोडलिङ गर्न पनि रुचाउँछु । पहिलो गीतमा मैले मोडलिङ गरेको थिइनँ । पछिल्ला गीतमा मोडलिङ गरँे । गीतमात्रै चलेर हुँदैन रहेछ भनेर कलाकार पनि चल्नुपर्छ भन्ने लागेर मोडलिङ गरियो । जस्तै रेलिमाई गीतको मोडल हो नि तपाईं भनेर सोध्ने गर्छन् । हो, भन्छु । तर, तपाईंले नै गाएको गीत हो भन्दैनन् । गायकलाई भने आफैंले चिनाउनुपर्ने हुँदोरहेछ । मैले डेढ दर्जन जति गीतमा स्वर दिएको छु । ‘तिमीलाई हेरी-हेरी,’ ‘डलर’ ‘घाँटीभन्दा तल,’ ‘रेलिमाई’, ‘परेली झिमिक्कै’ ‘ख्याल ठट्टा’, लगायतका छन् ।
कसरी आउनुभयो यो क्षेत्रमा ?
सानैदेखिको लगाव हो । सानोमा गीत गाउँदा पाउने स्याबासीले नै म यो क्षेत्रमा हेलिँदै गएँ । म बाल्यकालमा गीत गाउँदा अभिभावक खुसी हुनुहुन्थ्यो । मेरो छोरा/नातिले पनि गीत गाउँदोरहेछ भनेर स्याबासी दिनुहुन्थ्यो । त्यो बेला गीत डराइडराइ गाएको थिएँ तर स्याबासी पाएँ । पछि मैले गीत निकालेँ । म स्कुलमा हुने विभिन्न कार्यक्रममा गीत गाउँथेँ । स्कुलबाटै मैले गितार र पियानो पनि सिकेको थिएँ ।
यो क्षेत्र नै किन रोज्नुभयो ?
हाम्रो पारिवारिक वातावरण नै आर्ट र म्युजिकलको भयो । मेरो मामाघरको हजुरबुबा नेपालको पहिलो गायक हुनुहुन्छ हरिप्रसाद रिमाल । हजुरबा प्रख्यात कवि गोपालप्रसाद रिमाल हुनुहुन्छ । सायद त्यहाँबाट पनि मलाई जेनेटिक केही आयो होला । मेरो आफ्नो रुचि र पारिवारिक माहोलले पनि होला म यो क्षेत्रमा आएँ । अभिभावकबाट प्रेरणा पाएर भन्नुपर्ला ।
कत्तिको गाह्रो र संघर्ष रहेको पाउनुभयो यो क्षेत्रमा ?
लगनशीलता, मिहिनेत र संघर्षले नै सफलता प्राप्त हुन्छ भन्ने लाग्छ । म काठमाडौंमै जन्मिएँ, हुर्किएँ, त्यसो हुँदा मलाई त्यति संघर्ष भने गर्नुपरेन । तर, गीत-संगीत क्षेत्रमा निरन्तर लगनशीलताका साथ मिहिनेत गरिरहेको छु, संघर्ष गरिरहेको छु । गाउन सजिलो छ तर स्तरीय गाउन र टिकिराख्न गाह्रो छ । त्यस मानेमा मैले संघर्ष गरिरहेको छु ।
पहिलो गीत कुन थियो यहाँको, कहिले श्रोता/दर्शकमाझ ल्याउनुभयो ?
मैले पहिलो श्रोता/दर्शकमाझ ल्याएको गीत ‘ओइलिएर झर्न दिन्न’ थियो । सन् २०१५ मा यो गीत आएको थियो । यो गीतले राम्रै चर्चा पायो । यो गीतमार्फत् सोसियल अवर्नेशको कथा भनेको थिएँ । एसिड अट्याकको थियो । जुन दर्शकले रुचाइदिनुभयो ।
यहाँलाई गीतका भिडियोमा पनि देखिन्छ नि ?
गायनलाई नै हो मेरो प्राथमिकता । म मोडलिङ गर्न पनि रुचाउँछु । पहिलो गीतमा मैले मोडलिङ गरेको थिइनँ । पछिल्ला गीतमा मोडलिङ गरँे । गीतमात्रै चलेर हुँदैन रहेछ भनेर कलाकार पनि चल्नुपर्छ भन्ने लागेर मोडलिङ गरियो । जस्तै रेलिमाई गीतको मोडल हो नि तपाईं भनेर सोध्ने गर्छन् । हो, भन्छु । तर, तपाईंले नै गाएको गीत हो भन्दैनन् । गायकलाई भने आफैंले चिनाउनुपर्ने हुँदोरहेछ ।
यहाँले धेरै मोडल नायिकासँग अभिनय गर्नुभयो, अहिलेसम्म को-कोसँग स्क्रिन सेयर गर्नुभयो ?
त्यस्तो धेरैसँग त होइन । चर्चित अभिनेत्री केकी अधिकारी, मोडल नायिका रिमा विश्वकर्मा, गायिका इन्दिरा जोशीलगायतसँग अभिनय गरेको छु ।
चलचित्र क्षेत्रमा पनि लाग्ने सोच बनाउनुभएको छ कि ?
त्यस्तो कुनै प्लानिङ त छैन । तर, हेरौँ के हुन्छ ।
यहाँको स्वरमा कति जति गीत श्रोता/दर्शकमाझ आए होलान् ?
मैले डेढ दर्जन जति गीतमा स्वर दिएको छु । ‘तिमीलाई हेरी-हेरी,’ ‘डलर’ ‘घाँटीभन्दा तल,’ ‘रेलिमाई’, ‘परेली झिमिक्कै’ ‘ख्याल ठट्टा’, लगायतका छन् ।
फिल्ममा पनि यहाँले गीत गाउनुभएको छ होइन ?
हो, ‘झुसे बारुलो’, शिलफूल फिल्मको ‘रित’ गीत गाएको छु ।
कस्तो टाइपका गीत गाउन मन पराउनुहुन्छ ?
म सबै प्रकारका गीत गाउँछु । अलिक बढी मनपर्ने भनेको पप गीत हो ।
यो क्षेत्रमा नआउनुभएको भए यहाँलाई हामी कहाँ पाउँथ्यौँ ?
आइटीको विद्यार्थी हुँ म । त्यही क्षेत्रमा हुन्थेँ ।
यहाँका गीतले धेरै अवार्ड पनि पाइरहेको पाइन्छ नि ?
१२औँ नेपाल अफ्रिका फिल्म अवार्डमा बेष्ट मुभी अवार्ड, चौथो नेपाल म्युजिक एण्ड फेशन अवार्डमा बेष्ट मोर्डन पप सिंगर, अठारौँ इमेज अवार्ड २०१६ मा बेष्ट डोएट सिंगर अफ दि इयरको अवार्ड जस्ता अवार्ड प्राप्त भएका छन् ।
अन्त्यमा ?
यो बसाइ र संवादका लागि यहाँ र यो लोकप्रिय सञ्चार माध्यमलाई धेरै धरै धन्यवाद भन्न चाहन्छु । नेपाली गीत संगीतलाई माया गरौँ भन्न चाहन्छु । मेरा गीतलाई औधी मन पराइदिनुभएकोमा सबैमा आभारी छु ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता