इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । यही कात्तिक ६ गते बुधबार इटहरी अवस्थित दुर्गा पार्टी प्यालेसको सभाहलमा यो प्रतियोगिताको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको हो ।
ट्यालेन्ट राउण्डमा ५५ जना फाइनल प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रष्फुटन गरेका हुन् । ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रालि र ओपन स्पेस प्रालिको संयुक्त आयोजनामा भएको बालबालिकाको लुकेका प्रतिभा प्रष्फुटन गर्ने यो प्रतियोगिताको यही कात्तिक १४ गते फाइनल हुँदैछ ।
ट्यालेण्ट राउण्डको निर्णायकमा मिसेस पूर्वेली आइकन २०२४ कि विजेता रेनुका श्रेष्ठ, मिस्टर नेपाल २०२४ का मिस्टर हृयाण्डसम टाइटल विजेता पिन्टु सन्याल, डान्स कोरियोग्राफर उर्मिला तामाङ, यसोदा लम्साल रहनुभएको थियो । सम्पूर्ण प्रतियोगीहरूको ट्यालेन्टलाई मूल्यांकन गरेर फाइनलमा ‘मिस्टर एण्ड मिस ट्यालेन्ट’को टाइटल प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
यसअघि दुई चरणमा अडिशन प्रक्रिया सम्पन्न भएको थियो । पहिलो अडिशनमा ८० जना बालबालिकाले भाग लिएका थिए भने दोस्रो अडिशनमा ५० जना बालबालिकाको सहभागिता थियो । त्यहाँबाट छनौट भएर अहिले ५५ जना फाईनलमा पुगेका हुन् । प्रतियोगिताको कोरियोग्राफी सुभेक्षा कार्कीले गरिरहनुभएको छ । उहाँले विभिन्न सिक्वेन्समा र्याम्प वाल्कको प्रशिक्षण गराइरहनुभएको छ ।
प्रतियोगीहरूलाई व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमता, योगालगायत विभिन्न विषयमा प्रशिक्षण दिइरहेको आयोजकले जनाएको छ । यो प्रतियोगिताको फाइनल यही कात्तिक १४ गते इटहरी अवस्थित लायन्स क्लबको सभाहलमा दिउँसो ४ बजे हुँदैछ ।
‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’को फिनालेबाट तीन क्याटोगरीमा विजेता घोषणा गरिने आयोजकले जानकारी गराएको छ । बिजेतालाई ३०/३० हजार नगदसहित विभिन्न आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ र ट्यालेण्टको आधारमा सबटाइटल पनि प्रदान गरिने आयोजकको भनाइ छ ।






