काठमाडौं । कलाकार विष्णु परियार मूलत : दृश्यचित्र र मुहारचित्रमा पोख्त चित्रकार मानिनुहुन्छ । यसैमा रहेर उहाँले थुप्रै कलाकृति सिर्जना गर्दै आउनुभएको छ । अविछिन्न रूपमा विभिन्न रङमा पोख्त सर्जक विष्णुले कला सिर्जना गरिरहनुभएको छ । उहाँले सिर्जना गरेको कलाका विविध सौन्दर्यले नेपाली कलालाई अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट चिनारी दिइराखेको छ । लमजुङ बेसिशहर-९ दिहिथोकमा बुबाआमा कृष्णबहादुर परियार र लालुमाया परियारको कोखबाट जन्मिनुभएका विष्णु काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन पस्किरहनुभएको छ ।
यथार्थवादी कलामा वस्तुको आकृति, अवस्थिति, संरचना सन्तुलन रंग आदिमा स्वाभाविकता प्रदान गर्न प्रकृतिका हरेक क्षणलाई आँखा र मनले खिचेर कलामा उतार्नुपर्छ भन्ने विष्णुको मान्यता छ । दृश्यचित्र होस् या व्यक्तिचित्रमा रंगको संयोजन गर्न सिपालु सर्जक विष्णुका कलाकृतिहरू देश–विदेशका ग्यालरी, कार्यलय, घर-कोठा वा संग्रहालयमा सजिसकेका छन् । पूर्वराजारानी, प्रधानमन्त्रीलगायतदेखि समाजका थुप्रै लब्धप्रतिष्ठित वा सर्वसाधारण व्यक्तिको मुहार चित्र पनि उहाँले बनाइसक्नु भएको छ । उहाँका कलामा कोमलता, मधुरता, सौन्दर्य र लालित्यपूर्ण मिश्रण पाइने गरेको छ ।
दुई दिदीपछिका एक्लो छोरा रहनुभएका विष्णु केही समय शिक्षक र रेडियोकर्मी पछि त्यसलाई चटक्कै छोडेर कला कर्मतिर लाग्नुभएको हो । स्कुलपढ्दा शिक्षकहरूले ‘तिमी राम्रो चित्र बनाउछौं’ भनेर प्रोत्साहित गर्नुहुन्थ्यो । आफ्नो ठाउँमा खासै चित्रकलाको माहोल नभेट्दा धेरै दुःख पाएको उहाँ सुनाउनुहुन्छ । ब्रस धुने, पुरानो होडिङबोर्डहरूको कलर खुर्किने सडक भित्ताहरूमा लेख्ने चित्र कोर्ने गरेको पुरानो दिनहरू स्मरण गर्दै आफ्नो गाउँठाउँको जनजीवन उकालिओरालीमा हिँडेका भरिया लहरै प्रष्ट देखिने लमजुङ हिमाललगायत अनुपम प्रकृतिकै कारण आफू प्रभावित भएको उहाँ मान्नुहुन्छ । ‘स्कुल पढ्दा दार्जिलिङका लामा सरले बनाएको चित्रले हरबखत तानिरहेको हुन्थ्यो । मन लोभिसकेको थियो । त्यतिबेलादेखि नै मनभित्रैबाट म चित्रकलामा लागिसकेको थिए । सोच्थे यस्तो चित्र बनाउन पाए त कति मज्जा आउथ्यो होला !’ उहाँ विगत समझिँदै भन्नुहुन्छ ।
‘यथार्थवादी कलामा वस्तुको आकृति, अवस्थिति, संरचना सन्तुलन रङ आदिमा स्वाभाविकता प्रदान गर्न प्रकृतिका हरेक क्षणलाई आँखा र मनले खिचेर कलामा उतार्नुपर्छ’ उहाँ भन्नुहुन्छ । उहाँले यस कार्यमा आफूलाई समाहित गर्दै लैजानुभएको छ । प्रकृतिमै डुबेर रंगको रहस्यलाई पत्ता लगाउनुभएको छ । त्यसैले दृश्यचित्र होस या व्यक्तिचित्रमा रंगको संयोजन गर्न सिपालु सर्जक हुनुभएको छ उहाँ ।
यो क्षेत्रमा गरेको योगदानलाई हिसाब गर्ने हो भने उहाँले झण्डै डेढ दशकको समय व्यतीत गरिसक्नुभएको छ । उहाँका कलाकृति देश-विदेशका ग्यालरी, कार्यलय, घरकोठा वा संग्रहालयमा सजिसकेका छन् । पूर्वराजारानी, प्रधानमन्त्रीलगायतदेखि समाजका थुप्रै लब्धप्रतिष्ठित वा सर्वसाधारण व्यक्तिको मुहार चित्र उहाँले बनाइसक्नु भएको छ । ‘अब त समय र अभ्यासको लामो कालखण्डले पनि कल्पनाकै आधारमा कुशल सिर्जना समग्र देख्न सकिन्छ । कलामा यथार्थपना नवीन शैलीका कारण जीवन्त सिर्जना दृष्टिगोचर हुन्छ’, उहाँ भन्नुहुन्छ ।
उहाँको विचारमा कला भनेको आफ्नो मनको अभिव्यक्ति क्यानभासमा उतार्नु हो । मान्छेले निर्वाधरूपमा आफ्ना मनका अभिव्यक्ति प्रस्तुत गर्न सक्नु नै कला हो । हरेक दिन आफ्नो कलास्टुडियोमा क्यानभास र कुचिसँग एक्लै रमाइरहने उहाँ सकुन्जेल चित्र नै कोरेर बाँच्ने बताउनुहुन्छ ।
मुहार चित्रमा व्यक्तिको गुण, स्वभाव, भाव बनोट, आफ्नोपनसँगै व्यक्तित्वसँग पनि जोडिने मौका पाउने हुँदा मुहार चित्र अलिक बढी बनाउने गरेको उहाँको स्पष्टोक्ति छ । मान्छेले निर्वाध रूपमा आफ्ना मनका अभिव्यक्ति प्रस्तुत गर्न सक्नु नै कला रहेको बताउनुहुने उहाँ कला मनोरञ्जन र सौन्दर्यमात्रै नभएर चेतनाको उज्यालो रहेको सुनाउनुहुन्छ । आफ्ना सृजनाहरू आफ्नै सन्तान जस्तै लाग्ने अनुभव सुनाउँदै ‘मन विछ्याएर हातले छुमेर बनाएका सृजनाहरू सबै उत्तिकै र उस्तै प्रिय हुन्छन्’ उहाँ भन्नुहुन्छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे ज्यूसँग भेटघाट पश्चात् उहाँको प्रोट्रेट सुरु गर्नुभएका विष्णुले चित्र नसक्दै उहाँ हामीमाझ नरहनुभएको क्षण निक्कै दुःखी भएको सुनाउनुहुन्छ ।
‘कलामा साधनासँगै प्रतिभा पनि चाहिन्छ’ भन्नुहुने उहाँ अनुशासन, धैर्यता, निरन्तरता, कोमलता र कलाचेत सबैभन्दा बढी आवश्यक रहने बताउनुहुन्छ । चित्रकलामा तैल चित्रणमा नै विशेष लगाव हुनुको कारण मा ‘तैल रंगबाट बनाएको चित्रको आयू लामो हुन्छ । घामपानीले कम असर गर्दछ । चित्र सुकाउँदै बनाउँदै गर्नुपर्ने हुनाले समय पनि बढी लाग्छ । कलरमा गर्विलोपना मलिनोपनासँगै चिप्लोपनाले चित्रलाई अझबढी आकर्षक बनाउने हुन्छ’, उहाँ बताउनुहुन्छ ।
कलाकारसँगै सिर्जनाहरू पनि बढिरहेको बताउनुहुने विष्णु पुराना पुस्ताहरूले नयाँ पुस्तामाझ कला हस्तान्तरण गरिरहेको सुनाउनुहुन्छ । ‘व्यावसायिक हिसाबले पनि पहिलेको भन्दा अहिले राम्रो छ । तर, गुणात्मक हिसाबले भने अलि कम नै देख्छु । परंरागत शैली हुँदै आधुनिक कलाको विकास पनि देखिन्छ’, उहाँ भन्नुहुन्छ ।
उहाँका कलाले दृश्य चित्रमार्फत नेपाली समाजको विविधता र वास्तविकतालाई क्यानभासमा जीवित पार्ने गरेको यस क्षेत्रका सम्बन्धित बताउँछन् । उहाँका कलामा कोमलता, मधुरता, सौन्दर्य र लालित्यपूर्ण मिश्रण पाइने गरेको उहाँहरूको भनाइ छ । एबीएम र नेपाल कल्चर एण्ड फिल्म सेन्टरको आयोजनामा हालै भएको ग्लोबल एक्सिलेन्स अवार्ड २०२४ मा उहाँलाई सर्वोत्कृष्ट चित्रकारको अवार्डबाट सम्मानित पनि गरिएको थियो ।
विभिन्नरंगमा आफूलाई व्यस्त बनाउँदै आउनुभएका विष्णुको अर्को परिचय गीतकार रहेको छ । उहाँका आधा दर्जन जति गीत श्रोता/दर्शकमाझ आएका छन् भने केही रेकर्डिङ तयारीमा छन् । उदय सोताङ, मनिला सोताङ, गगन सर्गम, गोविन्द गुरुङ, जगदीश समाललगायतका सर्जकको स्वरमा उहाँका गीत सजिएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts