बागलुङ । बागलुङ नगरपालिका-४ ओडारचौरमा नौ वर्षअगाडि सुरु भएको बहुउद्देश्यी खेलमैदान अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेलमैदान अलपत्र परेको हो । स्थानीयको सक्रियतामा ठाडो खोल्सालाई सम्याएर खेलमैदान बनाउन थालिए पनि हालसम्म ७५ प्रतिशतमात्रै काम सकिएको छ । लामो समयदेखि काम रोकिएपछि खेलमैदानमा बनेका संरचना जीर्ण भएका छन् भने प्याराफिटसमेत भत्किएका छन् । खेलमैदान निर्माणका लागि बागलुङ नगरपालिका, गण्डकी प्रदेश र स्थानीयले लाखौँ रुपैयाँ लगानी गरेका छन् ।
खेलमैदानका लागि उपयुक्त ठाउँ छनोट हुँदा समस्या आएको पाइन्छ । ठाडो खोलामा बर्खाको समय भेल आउने हुँदा खेलमैदानसहित त्यहाँ बनेका संरचना बगाउने गरेको छ । यसबाट हरेक वर्ष लाखौँको संरचना नष्ट भएको पाइन्छ । सरकार र स्थानीयको लाखौँ रकम परेको खेलमैदान महिल सडक निर्माण गर्दा करिब आधा भागसमेत पुरिएको छ । सडकको माटो, ढुंगासहितको गग्रेटाले खेलमैदानको अस्तित्व नै मेटाइदिएको छ । खेलमैदान वरपर झाडी पलाएको छ भने प्याराफिटमा लेउ लागेको छ । बीच भागमा हिलाम्मे हुँदा खेल खेल्नै नमिल्ने बनेको छ ।
ओडारचौर बहुउद्देश्यीय खेलमैदानका अध्यक्ष रामप्रसाद आचार्यका अनुसार खेलमैदान निर्माणका लागि हालसम्म स्थानीयवासीले उठाएको ३० लाख, प्रदेश र स्थानीय सरकारबाट करिब ३० लाख र जनश्रमदानदान गरी करिब एक करोड लगानी भएको छ । करोड लगानी भएको खेलमैदानमा अहिले खेल खेल्न सक्ने अवस्था छैन । खेलमैदान प्रगति हालसम्म ७५ प्रतिशत सकिएको भन्दै अझै २५ प्रतिशत पूरा गर्न बाँकी रहेको अध्यक्ष आचार्यले बताउनुभयो । खेलमैदानलाई पूर्णता दिनका लागि अझै ८० लाख रुपैयाँ आवश्यक पर्ने उहाँ बताउनुहुन्छ । बागलुङ बजार रहेको खेलमैदानमा विभिन्न किसिमका कार्यक्रम गर्न सकिने अध्यक्ष आचार्यको भनाइ छ ।
‘यहाँका युवाको सक्रियतामा खेलमैदान बनाउन सुरु गरिएको हो, धेरै वर्ष भयो खेलमैदान बनाउन थालेको तर अहिलेसम्म पूर्णता पाउन सकेको छैन, बागलुङ बजार छेउमै रहेको यो ठाउँमा सभा समारोह गर्न पनि उचित छ तर बजेट अभावले काम सकिएको छैन,’ अध्यक्ष आचार्यले भन्नुभयो, ‘यो ठाउँमा ठूलो खाल्डो थियो, खाल्डो पुरेर खेलमैदान बनाउन थालेका हौँ, ओडारचौरवासीले निकै ठूलो लगानी गर्नुभएको छ, यहाँबाट विदेश गएकाहरूले पनि धेरै रकम पठाएर सहयोग गर्नुभएको छ, धेरै पटक सम्बन्धित निकायमा माग गर्यौँ तर आवश्यक बजेट नहुँदा अव्यवस्थित बन्यो ।’
बागलुङ नगरपालिका-४ का अध्यक्ष कुमारविक्रम क्षेत्रीले खेलमैदान निर्माण गरेको भूगोल नमिलेको भन्दै प्राविधिक कमजोरीका कारण अहिलेसम्म सम्पन्न हुन नसकेको बताउनुभयो । पहिले धेरै युवा गाउँमा रहेको भन्दै अहिले धेरै विदेश पलायन भएको र चासो दिन कम हुँदा समयमै काम हुन नसकेको उहाँको भनाइ छ । नगरपालिकाले पनि लाखौँ रकम यहाँ लगानी गरेको सुनाउँदै बर्खा लाग्यो भने खेलमैदान डुबानमा पर्ने अध्यक्ष क्षेत्री बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘यहाँ केही प्राविधिक कमीका कारण खेलमैदान सञ्चालन गर्न सकिएको छैन, यो खेलमैदान निर्माण गर्ने बेला गाउँमा युवाहरूको ठूलो जमात थियो तर अहिले युवा पनि छैनन्, पहिला युवाहरूको लहर चल्यो, कार्यक्रम गर्ने गरे, अहिले खेलमैदानको अवस्था खराब छ, म वडा अध्यक्ष भएर आउनुपूर्व नै बन्न थालेको हो खेलमैदान अहिले पनि सम्पन्न भएको छैन, यसलाई पूर्णता दिन नगरपालिका र प्रदेश सरकारमा पहल गर्छु ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements