काठमाडौं । कराँते खेलाडी एरिका गुरूङले २०औँ सिनियर एकेएफ च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ । चीनको हाङझाउमा आइतबार सम्पन्न महिला ६८ केजीभन्दा माथिको तौल समूहको फाइनलमा उहाँ भियतनामकी खेलाडीसँग पराजित हुनुभयो ।
भियतनामकी खेलाडी एनगोआन नुएनले एरिकालाई ६-० ले पराजित गर्दै स्वर्ण पदक हात पार्नुभयो । उक्त नतिजासँगै एरिकाले नेपाली खेलकुदलाई एसियालीस्तरको कराँते प्रतियोगितामा पहिलो स्वर्ण पदक दिलाउने गतिलो अवसर गुमाउनुभयो ।
स्वर्ण पदक पाउन चुके पनि एसियाली सिनियर कराँतेमा नेपालले रजत पदक जितेको यो पहिलो हो । यसअघिका सबै संस्करणमा नेपाल पदकविहीन थियो । एरिकाले प्रि-क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४-० ले पराजित गर्नुभयो ।
क्वाटरफाइनलमा एरिका र काजकिस्तानकी सोफिया बेरुल्टसेभाकबीचको खेल १-१ को बराबरीमा टुंगियो । ‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी हुनुभयो । पहिलो अंक एरिकाले बटुल्नुभएको थियो । सेमिफाइनलमा एरिकाले थाइल्याण्डकी केवालिन सोङक्लिनलाई ८-० ले हराउँदै उपाधि नजिक पुग्नुभएको थियो ।
एरिकाको यो पाँचौँ अन्तर्राष्ट्रिय सहभागिता हो । कुनै पनि प्रतियोगितामा एरिका पदकविहीन हुनुपरेको छैन । एरिकाले इण्डोनेसियाको जकार्तामा भएको १०औँ विश्व सितोरियो कराँते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्ससमा भएको युएस ओपन कराँते च्याम्पियनसिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो । सबै प्रतियोगितामा कुशल श्रेष्ठ प्रशिक्षकको भूमिकामा हुनुहुन्थ्यो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता