काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्ल्युभिएल) का लागि चितवन शक्तिले रसियाकी अपोजिट हिटर अन्ना डिमित्रीभालाई भित्र्याएको छ । पहिलो पटक अनुबन्ध गरेको अजरबैजानकी केन्सिया पावेल्निको केही कारणबस टिममा आउन नसक्ने भएपछि चितवनले अर्की खेलाडीलाई उनको स्थापनमा प्रतिस्थापन गर्न लागेको हो ।
२१ वर्षीया अन्ना ६.२ उचाइ भएकी दायाँ हाते स्पाइकर हुनुहुन्छ । उहाँ पहिलो पटक नेपालमा खेल्न आउन लाग्नुभएको हो । उहाँको उपस्थितिले टिम थप बलियो हुने र प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास चितवन शक्ति टिमले लिएको छ ।
चितवनका लागि भारतीय मिडलब्लकर सूर्या सरसुरी र स्पाइकर केपी अनुश्रीलाई अनुबन्ध गरिसकेको छ । अन्ना चितवनको तेस्रो विदेशी खेलाडी हुनुहुन्छ । उहाँले वात्सल्य महिला भलिबल लिगमा चितवनका लागि खेल्नु हुनेछ । चितवनका लागि नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रूपमा रहनुभएको छ ।






