काठमाडौं । रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइएको छ । शतवार्षिकीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सव-२०८१ मा विभिन्न विधाका विजयी र कला तथा पत्रकारिता क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
महोत्सवमा कोशी प्रदेशबाट चेतना नाट्य समूह इलामको प्रस्तुतिस्वरूप माधव भण्डारीको लेखन रहेको नाटक ‘घरजम’ले पहिलो पुरस्कार जित्न सफल भयो । सोही नाटकबाट सुरेश पोर्तेल र अन्वेश थुलुङ राईले निर्देशक तथा भावना खपांगीमगरले अभिनेतृको अवार्ड हात पार्नुभयो । लुम्बिनी प्रदेशबाट सहभागी शैक्षिक विकृतिसम्बन्धी गणेशप्रसाद पौडेलको लेखन र विशालकुमार केसीको निर्देशन रहेको नाटक ‘निब’ दोस्रो भएको थियो । सोही नाटकबाट सोमनाथ खनालले अभिनेताको अवार्ड पाउनुभयो । त्यस्तै बागमती प्रदेशबाट सहभागी श्रीकृष्ण शाहीको लेखन, निर्देशन र प्रस्तुतिको ‘सिल्भिया’ तेस्रो भएको थियो ।
कार्यक्रममा वर्ष-२०७९ को हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कारबाट गणेश रसिक, हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत विशेष पुरस्कारबाट गायक सुदेश शर्मा, हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट पुरुषोत्तम सापकोटा र हरिप्रसाद कल्याणी विशेष सञ्चार सेवा सम्मान पुरस्कारबाट सञ्चारकर्मी भाष्करराज राजकर्णिकारलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै-२०८० को हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत सम्मान पुरस्कारबाट मदनदास श्रेष्ठलाई सम्मानित गरिएको थियो भने हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत विशेष पुरस्कारबाट रंगकर्मी अनुप बराल, हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट सूर्यकुमारी पन्त, हरिप्रसाद कल्याणी विशेष सञ्चार सेवा सम्मान पुरस्कारबाट पत्रकार अनन्त वाग्ले पुरस्कृत हुनुभएको थियो ।
समारोहमा कार्यक्रमका प्रमुख अतिथि तथा सभाध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष वासुदेव त्रिपाठी, रिमालकी सञ्चारकर्मी पत्नी कल्याणी रिमाल, सदस्यसचिव सम्राट सापकोटालगायतले महोत्सवमा विजयी हुनेहरूलाई ट्रफी र सम्मानपत्रसहित पहिलो पुरस्कारस्वरूप एक लाख रुपैयाँ, दोस्रो पुरस्कारस्वरूप ५० हजार रुपैयाँ र तेस्रो पुरस्कारस्वरूप २५ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । त्यसैगरी नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई पुरस्कारस्वरूप जनही नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कारको राशि ३१ हजार एक र अन्य पुरस्कारको राशि २१ हजार एक रुपैयाँ रहेको थियो । समारोहमा सम्मानित व्यक्तित्वबारे पत्रकार विदुर गिरी, नाट्यकर्मी पुष्कर गुरुङ, अभिनेता तथा रंगकर्मीद्वय सम्राट सापकोटा र वीरेन्द्र हमाल तथा सञ्चारकर्मी सोमराज सुवेदीले प्रकाश पार्नुभएको थियो ।
स्व.रिमालको शतवार्षिकी महोत्सवको प्रतिस्पर्धाअन्तर्गत महोत्सवमा सुदूरपश्चिमबाहेक ६ प्रदेशका विभिन्न स्थानबाट प्रतिस्पर्धाका लागि आएका नाटकमध्ये निर्णायक समूहले चयन गरेका ६ नाटक प्रदर्शन गरिएको थियो । नाट्यकर्मी अषेश मल्ल, हरिबहादुर थापा र पुष्कर गुरुङ निर्णायक रहेको महोत्सवमा ‘सती कलसा, निब, नाच नौवरंगी, लासको खेती र सिल्भिया’ले प्रतिस्पर्धा गरेका थिए । नाटकका विजेता कलाकारले निर्णायकमध्येका एक पुष्कर गुरुङको आगामी चलचित्रमा अभिनयको मौका पाउने जनाइएको छ ।
समारोहमा शिखर कलाकार हरिप्रसाद रिमाल नामक पुस्तक पनि लोकार्पण गरिएको थियो ।
अभिप्सा सापकोटाद्वारा सञ्चालित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तथा प्राध्यापक प्रयागराज भट्टराई वशिष्ठले समारोहलाई स्वागत गर्दै नेपाली नाट्य, गीतसंगीत, प्रसारण, फिल्मलगायत क्षेत्रमा रिमालको योगदानको चर्चा गर्दै उहाँको शतवर्षिकीको अवसरमा आयोजना गरिएको नाटक महोत्सवले विषेश महत्व राख्ने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार प्राडा. त्रिपाठीले रिमालको सम्झनामा उहाँकै कर्मथलोमध्ये एक सांस्कृतिक संस्थानमा उहाँको शतवार्षिकीको अवसरमा नयाँ पुस्ताका कलाकारलाई प्रतिष्ठानले सम्मान र पुरस्कार प्रदान गर्दा प्रतिष्ठान गौरवान्वित भएको सुनाउनुभयो । प्रतिष्ठानका सदस्यसचिव एवं अभिनेता सापकोटाले प्रतिष्ठानले व्यक्तिगत फाईदाका लागि नभई नाट्य क्षेत्रमा नव कलाकार, लेखक निर्देशक लगायत जन्माउन र सम्मानका लागि प्रतिष्ठानको लगानीमा महोत्सव आयोजना गरिएको बताउनुभयो । समारोहमा निर्णायकको तर्फबाट बोल्दै नाट्यकर्मी अशेष मल्लले नाटकको प्रस्तुतीकरण, कथावस्तुलगायतको आधारमा विजयी नाटक चुनिएको बताउनुभयो ।
सम्मानितको तर्फबाट मन्तव्य राख्दै कलाकार मदनदास श्रेष्ठले रिमाल आफ्नो कर्म दिने पिता रहेको जनाउँदै उहाँकै नामको सम्मानबाट सम्मानित हुन पाउँदा निकै गौरव महसुस भएको बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता