काभ्रे । संस्कृतिविद् तथा इतिहासकार हरिराम जोशी र साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूलाई एक कार्यक्रमबीच नगदसहित सम्मान गरिएको छ । उहाँहरूलाई ज्ञानकाजी-मोहनलाल खिं स्मृति सेवा कोषले सम्मान समर्पण गरेको हो । शिक्षा, साहित्य र संस्कृतिका त्रिवेणी ज्ञानकाजी मानन्धर तथा उहाँका पिता नाटककार तथा समाजसेवी मोहनलाल खिं मानन्धरको स्मृतिमा उक्त कोषले हरिराम जोशीलाई ज्ञानकाजी-मोहनलाल खिं इतिहास गौरव सम्मान र सूर्यप्रसाद लाकोजूलाई ज्ञानकाजी-मोहनलाल खिं संस्कृति गौरव सम्मान अर्पण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्राडा.पुरुषोत्तमलोचन श्रेष्ठले नेपालको संस्कृति र इतिहासको क्षेत्रमा ज्ञानकाजी मानन्धरको उल्लेखनीय भूमिका रहेको बताउनुभयो । एक अर्को प्रसंगमा सम्मानित प्रतिभा इतिहासकार तथा संस्कृतिविद हरिराम जोशीले नेपालको इतिहास र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएको विचार राख्नुभयो । उहाँ गणतन्त्रको विषयमा पहिलो पल्ट कलम चलाउने स्रष्टा भएको कुरा पनि बताउनुभयो । साथै सूर्य लाकोजू आफैंमा एक राम्रो कवि, कथाकार भएर पनि संस्कृतिको उत्थानमा पनि आफ्नो कलम चलाएर नेपाली संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गरिरहनुभएको विचार पोख्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवालले सम्मानित प्रतिभाहरूका बारेमा चर्चा गर्दै हरिराम जोशी नेपाली इतिहास र संस्कृतिको विराट व्यक्तिव भएको र सूर्य लाकोजू नेपाली भाषा, साहित्य र नेपाली संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गरेका व्यक्ति भएको धारणा राख्नुभयो । कार्यक्रममा सम्मानित द्वय हरिराम जोशी, सूर्यप्रसाद लाकोजू, भुवन मानन्धर, रघुवर मानन्धर लगायतले मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा शिक्षा, साहित्य र संस्कृतिका त्रिवेणी ज्ञानकाजी माननधर र उहाँका पिता मोहनलाल खिंको स्मृतिमा स्थापित ज्ञानकाजी मोहनलाल खिं स्मृति सेवा कोषमा अक्षयकोष स्थापनार्थ दश लाख रुपैयाँ परिवारबाट व्यवस्था गरेको कुरा ज्ञानकाजी मानन्धरका पुत्र प्रकाश मानन्धरले जानकारी गराउनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता