काठमाडौं । चाहना शाह नेपालगञ्ज म्याराथनको आउटरिच म्यानेजरमा नियुक्त हुनुभएको छ । धारा नेपालगञ्ज म्याराथनले युथ ओलम्पिक एम्बासडर शाहलाई नियुक्त गरेको हो ।
ट्रायथलनकी अन्तर्राष्ट्रिय निर्णायक चाहनाले समग्र म्याराथनको अपरेसन टिममा रहेर जिम्मेवारी निर्वाह गर्नुहुनेछ । यसैगरी म्याराथनको १०औँ संस्करणलाई विशेष बनाउने उद्देश्यका साथ ‘दशौँमा दश इभेन्ट’ गरिने भएको छ । असोज ३ गते नेपालमै पहिलोपटक हुने नेपालगञ्ज १० किमी रात्री दौडबाट इभेन्टको सुरुवात हुनेछ ।
त्यसैगरी रनिङ संस्कृतिलाई बढावा दिनका लागि असोज ५ गतेदेखि वर्षभरि हरेक शनिबार सञ्चालन हुने गरी ‘साप्ताहिक रन’ कार्यक्रम हुँदैछ । यसका लागि रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङलाई प्रमुख जिम्मेवारी दिइएको छ । बाँके जिल्ला एथ्लेटिक्स संघले यसमा साझेदारी गर्नेछ । १०औँ धारा नेपालगञ्ज म्याराथनलाई लक्षित गरी स्कुल कलेजमा लेक्चर सिरिज सञ्चालन हुनेछ । यसका लागि चाहना शाहलाई संयोजनको जिम्मेवारी दिइएको छ ।
यसैगरी गौघाट ग्रिन रन, मंसिर ५ गते दीप प्रज्वलन, म्याराथन एक्स्पो, फोटो प्रदर्शनी, नेपालगञ्ज कनक्लेभ, दशक रत्न सम्मान हुँदै मंसिर २२ गते धारा नेपालगञ्ज म्याराथनको १०औँ संस्करण गरिने नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरीले जानकारी दिनुभयो ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएकोमा यस वर्ष कर्णालीमा बृहत् राष्ट्रिय खेलकुद परेकाले म्याराथन मंसिर २२ गते हुन लागेको हो ।
क्रियटिभ हृयाण्ड्सको आयोजना एवं क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको धारा नेपालगञ्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत् नेपालगञ्ज र कोहलपुरलाई जोड्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता