
पेरिस । सन् २००३ पछि पहिलोपटक अर्जेन्टिनी कप्तान लियोनल मेसी तथा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोबिनै बालोन डि’ओर अवार्डको प्रारम्भिक ३० खेलाडी सूची सार्वजनिक भएको छ । बुधबार राती सार्वजनिक नयाँ सूचीमा इंग्ल्याण्ड र स्पेनका समान ६ जना खेलाडी छन् । रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका सात खेलाडी छन् ।
लियोनल मेसीलाई धेरैले अहिलेसम्मकै उत्कृष्ट फुटबल खेलाडी मान्दै आएका छन् । तर, अर्जेन्टिनाका स्टार मेसी यस वर्षको बालोन डि’ओर अवार्डको मनोनयनमा पर्न सक्नुभएन । कीर्तिमानी आठपटकका विजेता मेसीसँगै पोर्चुगलका भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि अक्टोबर २८ मा प्रदान गरिने अवार्डको दौडमा रहेका ३० खेलाडीको सूचीमा अटाउन सक्नुभएन । पाँचपटकका विजेता रोनाल्डो पछिल्लोपटक मनोनयनमा पर्नुभएको थियो । १६ पटक मनोनयनमा पर्नुभएका मेसी यसपटक कोपा अमेरिका जिते पनि ३० खेलाडीमा स्थान बनाउन सक्नुभएन ।
स्पेनका ६ खेलाडीमा १७ वर्षका बार्सिलोनाका विंगर लामिन यमल पनि समावेश हुनुहुन्छ । त्यस्तै, निको विलियम, एलेजान्ड्रो ग्रिमाल्डो, डानी ओल्मो, रोड्रि, र डानी कार्भाजाल सूचीमा हुनुहुन्छ । रियल मड्रिडबाट केलियन एम्बाप्पे, जुड वेलिंघम र भिनिसियस जुनियर हुनुहुन्छ । इंग्ल्याण्डबाट कप्तान हृयारी केन, बुकायो साका, डिक्लेन राइस, कोल पाल्मर र फिल फोडनले स्थान बनाउनुभएको छ ।
महिलातर्फ पनि स्पेनबाट बार्सिलोनाका ऐटाना बोनमतीसँगै ६ खेलाडी समावेश छन् । बालोन डि’ओरको अन्तिम विजेता अक्टोबर २८ पेरिसमा हुनेछ । भिनिसियस जुनियर, रोड्री, जुड बेलिंघम, केलियन एम्बाप्पे, एर्लिङ हालान्ड र हृयारी केन मनोनयनमा पर्नुभएको छ । गत वर्ष पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट इन्टर मियामीमा जाँदा युरोपियन फुटबललाई पछाडि छाडेका मेसीले अझै पनि उच्चस्तरमा प्रदर्शन गरिरहनुभएको छ । उहाँको कप्तानीमा जुलाईमा अर्जेन्टिनाले कोपा अमेरिका जितेको थियो । मेसी सन् २००६ मा पहिलोपल्ट बालोन डि’ओर अवार्डका लागि मनोनीत हुनुभएको थियो । तर, उहाँले त्यसको तीन वर्षपछि मात्रै उक्त अवार्ड जित्नुभयो ।
मेसी र रोनाल्डोले आफ्नो क्यारियरको शिखरमा लगभग दुईतर्फी प्रतिस्पर्धा गर्नुभयो । इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड छाडेर रोनाल्डो साउदी अरबको अल–नासर सर्नुभएको छ ।
गत वर्ष मेसीले म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डलाई पछि पार्दै अवार्ड जित्नुभएको थियो । गत वर्ष महिलातर्फको बालोन डि’ओर अवार्ड जितेकी आइताना बोनमती पुनः मनोनयनमा पर्नुभएको छ । अमेरिकी स्टार ट्रिनिटी रोडम्यान, सोफिया स्मिथ, म्यालोरी स्वानसन, एलिसा नेहर र लिन्डसे होरान पनि ३० दाबेदारको सूचीमा हुनुहुन्छ । सन् १९५६ मा फ्रान्सका स्टेनली म्याथ्युजलाई बालोन डि’ओर प्रदान गरिएको थियो । युसेबियो, बबी चार्लटन, जर्ज बेस्ट, जोहान क्रुफ, फ्रान्ज बेकेनबाउर, रोनाल्डो र जिनेदिन जिदानले यसअघि यो अवार्ड जितिसक्नुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच