वासिङ्टन । विश्व नम्बर दुई आर्यना साबालेन्का युएस ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । बेलारुसकी स्टार साबालेन्काले ३३औँ वरीयताकी बेल्जियन खेलाडी एलिसे मार्टिनेजलाई सोमबार बिहान ६-२, ६-४ ले पराजित गर्नुभयो ।
साबालेन्काले अब सेमिफाइनल प्रवेशका लागि सातौँ वरीयताकी चाइनिज खेलाडी क्विनवेन जोङको सामना गर्नुहुनेछ । जोङले क्रोएसियाकी डोना भेकिचलाई ७-६ (७-२), ४-६, ६-२ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्नुभएको छ ।
यसैगरी अमेरिकी स्टार कोको गौफको युएस ओपन टेनिसमा उपाधि रक्षा गर्ने आशा समाप्त भएको छ । गौफ चौथो चरणमा आफ्नै देशकी एम्मा नाभारोसँग स्तब्ध हुनुभएको हो । सोमबार बिहान भएको खेलमा २० वर्षीया गौफ आफ्नै गल्तीका कारण पराजित हुनुभयो । उहाँले १९ डबल फल्ट गर्नुभएको थियो । जसमा ११ फल्ट त तेस्रो सेटमा मात्र थियो । अन्तिममा तीन फल्ट गरेपछि गौफले नाभारोलाई नतिजा सुम्पिनुभएको हो । नाभारोले पहिलो सेट ६-३ ले जित्नुभएको थियो ।
दोस्रो सेटमा गौफले पुनरागमन गर्दै ६-४ को जित हात पार्नुभयो । तर, तेस्रो सेट ३-६ ले गुमाएपछि उहाँको युएस ओपन यात्रा समाप्त हुँदा नाभारोले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नुभयो । हारसँगै सन् २०१४ मा सेरेना विलियम्सपछि युएस ओपन उपाधि रक्षा गर्ने पहिलो महिला खेलाडी बन्ने गौफको सपना पूरा हुन सकेन ।
नाभारोले यसै वर्षको विम्बल्डनमा पनि गौफलाई अन्तिम १६ मा पराजित गर्नुभएको थियो । २३ वर्षीया नाभारो २००४ यता एकै वर्ष विम्बल्डन र युएस ओपनको अन्तिम आठमा पुग्ने सबैभन्दा कान्छी अमेरिकी महिला खेलाडी हुनुहुन्छ ।
यस्तै पुरुष एकलतर्फ टाइलर फ्रिर्टज, एलेक्सजेन्डर जेभरेभ, ग्रिगोर दिमित्रोभ र फ्रान्सिस टियाफोले पनि क्वाटरफाइनलको यात्रा तय गर्नुभएको छ । एजेन्सी ।






