काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई प्रोत्साहनस्वरूप कारबाट पुरस्कृत गर्ने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार र बिहीबार बसेको एन्फा बैठकले वर्षमा एक महिला र पुरुष उत्कृष्ट खेलाडीलाई प्रोत्साहनस्वरूप कार दिने निर्णय गरेको हो । यस्तै, उत्कृष्ट रेफ्री र प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिइनेछ । साथै मोटरसाइकल र स्कुटर पनि दिइने एन्फाले जनाएको छ ।
लाइफ टाइम एचिभमेन्ट अवार्ड पाँच लाख रुपैयाँ र मोटरसाइकल तथा स्कुटरबाट पुरस्कृत गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ । एन्फले उत्कृष्ट खेलाडी, रेफ्री तथा प्रशिक्षक छनोटका लागि पुरुषोत्तम थापाको संयोजकत्वमा हरि थापा र सञ्जीव मिश्र सदस्य रहनेगरी समिति गठन गरेको छ ।
यसैगरी एन्फा महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर पु¥याउने, राष्ट्रिय टोलीका खेलाडीलाई मासिक ३० हजार रुपैयाँ दिने, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगर्नेलगायतको निर्णय बैठकले गरेको छ ।
आधुनिक रंगशाला बनाउन २२ लाख डलर विनियोजन
यस्तै, एन्फाले नेपालमा आधुनिक नयाँ रंगशाला बनाउन प्रारम्भिक चरणमा २२ लाख डलर छुट्याउने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले नेपालमा नयाँ रंगशाला अति आवश्यक देखिएकाले जग्गा उपलब्ध गराउन सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ । एन्फाले २५ देखि ४० हजार दर्शक क्षमताको रंगशाला बनाउने जनाएको छ । नयाँ रंगशालाका निम्ति जग्गा प्राप्त गर्न सरकारसँग समन्वयन गर्न उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा तीन सदस्यीय समितिसमेत गठन गरेको छ ।
समितिमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य हुनुहुन्छ । यस्तै बैठकले दशरथ रंगशालामा कृतिम घाँस रोप्न, एन्फा मुख्यालय मैदानको कृतिम मैदानलाई सुधार गर्न, विभिन्न रंगशालामा कृतिम घाँस रोप्न बजेट छुट्टाउनका लागि प्रस्ताव पेश गर्ने र विभिन्न प्रतियोगिताका लागि बजेट छुट्टाउनेलगायत निर्णय गरेको छ ।
नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने
एन्फाले भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेपछि अब नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने प्रकिया थाल्ने भएको छ । एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको हो । साथै अब नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका लागि नयाँ प्रशिक्षक आवश्यक भएको छ । त्यसका लागि प्रो-लाइसेन्सप्राप्त प्रशिक्षकको नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको एन्फाले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालले विश्वकप छनोट, एसियन कप छनोट जस्ता खेल खेल्नका लागि प्रो-लाइसेन्स प्राप्त कोच हुनुपर्ने भएकोले नेपालले फेरि विदेशी प्रशिक्षक नै ल्याउनुपर्ने भएको छ । नेपालमा अहिलेसम्म प्रो-लाइसेन्स प्राप्त प्रशिक्षक छैनन् । तर, नेपालले अब खेल्ने अन्तर्राष्ट्रिय फुटबल खेल २०२५ मार्च अर्थात आगामी चैतमा रहेकोले तत्काल विदेशी प्रशिक्षक नियुक्त हुने सम्भावना कम छ । यस्तै नेपालले फिफा विन्डोमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका पनि छैन ।
त्यसैले तत्कालका लागि नेपाली अस्थायी प्रशिक्षक नै राख्ने सम्भावना छ । एन्फा प्रवक्ता सुरेश शाहले प्रो-लाइसेन्स प्राप्त कोच नियुक्तिको प्रक्रिया अघि बढाउने र त्यसअघि नेपालकै अस्थायी प्रशिक्षक नियुक्त गरेर काम अघि बढाउने जानकारी दिनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता