काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपविजेता खेलाडीलाई नेपाल सरकारले नगद पुरस्कार प्रदान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्नुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहतगायतको उपस्थिति थियो ।
साउन ३१ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो । कार्यक्रममा टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला भलिबल खेललाई आजको अवस्थामा ल्याउन योगदान दिनेहरूलाई धन्यवाद दिँदै सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिन नीतिगत र व्यावहारिक रूपमा व्यवस्था हुनुपर्ने बताउनुभयो ।
मन्त्रालयका सचिव सुमनराज अर्यालले सीमित स्रोत साधनबीच नेपाली खेलाडीले देखाएको उत्कृष्ट प्रदर्शनप्रति आभार व्यक्त गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई प्राथमिकता दिँदै प्रधानमन्त्री ओलीले लिएको अग्रसरता प्रशंसनीय रहेको बताउनुभयो ।
नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले भलिबलको विकासका लागि के गर्न सकिन्छ भन्नेमा प्रधानमन्त्री ओलीको प्रतिबद्धताबमोजिम कभर्डहल बन्ने विश्वास व्यक्त गर्नुभयो । पुरस्कृत कप्तान शाहीले पुरस्कारबाट प्रोत्साहन मिलेको र आगामी खेलमा राम्रो प्रदर्शन गरी राष्ट्रलाई चिनाउने संकल्प गर्नुभयो ।
गत साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी कुल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री ओलीले यही भदौ २ गते सहभागी खेलाडी र प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि प्रधानमन्त्री निवासमा छलफल गर्नुभएको थियो ।
‘जहिले पनि जित्छौँ भन्ने मनोबलका साथ लाग्नुहोस्’
प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मिहिनेत गर्न आग्रह गर्नुभयो । ‘हाम्रा खेलाडी छोरीलाई थप सफलता र प्रगतिका लागि उत्साह मिलेको छ भन्ने मैले विश्वास लिएको छु,’ उहाँले भन्नुभयो, ‘यो पुरस्कारमा थप सफलताको शुभकामना जोडिएको छ । खेलाडीलाई निरन्तर अभ्यास र प्रेरणाको वातावरण तथा पूर्वाधारका लागि सरकारले सक्दो प्रयत्न गर्नेछ । तपाईंहरू जहाँ जाँदा पनि जित्छौँ भन्ने उच्च मनोबलका साथ अन्तिम समयसम्म लाग्नुहोस् ।’
आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई तीन सय दिनभित्र स्तरोन्नति गर्ने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यसको कार्यान्वयन गरिने अवगत गराउँदै दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
दशरथ रंगशालालाई उत्कृष्ट बनाउन निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाको अवस्थाका कारण देशकै बेइज्जत भएको पनि बताउनुभएको छ । केही समयअघि भुटानको पारोसँगको खेलमा रंगशालाको अवस्थाले देशको बेइज्जत भएको उहाँले उल्लेख गर्नुभयो । रंगशालाको आवश्यक निर्माणकार्य उत्कृष्ट ढंगले गर्न उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले खेल मैदान धेरै बिग्रिएकाले देशकै बेइज्जत हुने खालको स्थिति नहुने गरी निर्माण गर्न निर्देशन दिनुभयो ।
खेल्न २५ हजार दर्शक क्षमताको रंगशाला अपरिहार्य रहेको भन्दै उहाँले मैदान चुस्त-दुरुस्त बनाउनुपर्नेमा जोड दिनुभयो । मैदानको दुरूपयोग नगर्न पनि उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले १०औँ राष्ट्रिय खेलकुद खेलाउँदा दशरथ रंगशाला चुस्त-दुरुस्त बनाउन सक्नुपर्ने बताउनुभयो । आजैदेखि मैदान उत्कृष्ट बनाउन सुरु गर्न उहाँले निर्देशन दिनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता