रोल्पा । रोल्पामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन हिल स्टेशनको निर्माण भएको छ । रोल्पाको रुन्टिगढि गाउँपालिकामा पर्यटन विकासका लागी सोही गाउँपालिकाको वडा न. ५ र ६ को दाङ्छेडि , सिद्धथान र सैबाङ्खुटि बन क्षेत्र लाई समेट्दै हिल स्टेशन निर्माण भएको छ ।
रुन्टिगढि गाउँपालिका पर्यटकिय क्षेत्रको प्रचुर संभावना बोकेको पालिका भएकाले पालिकाको पहलमा पालिकामा पर्यटन विकासका लागि हिल स्टेशन निर्माण भएको र यस कार्यले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनमा र पालिकाको आर्थिक विकासमा समेत थप टेवा पुग्ने गाउँ पालिकाका अध्यक्ष जनक पुनले बताउनुभयो । अध्यक्ष पुनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकहरु लाई आकर्षित गर्नका लागि पालिका भित्र रहेका विभिन्न किसिमका पर्यटकिय सम्भावना बोकेका पर्यटकिय स्थलहरुमा पर्यटनका संरचनाहरु निर्माणमा पालिकाले जोड दिदै जाने समेत बताउनु भयो ।
हिल स्टेशन क्षेत्रको नजिकै भारत देखिने मुरुल्ले लेक रहेको र उक्त लेक समुन्द्री सतह बाट करिब दुई हजार एक सय मिटरको उचाइमा रहेको मुरुल्ले लेक प्राकृतिक रूपले अत्यन्तै सुन्दर र मनोरम रहेको र उक्त लेक बाट दक्षिण-पश्चिम् भेगमा रहेको दाङ उपत्यकाको धेरै जसो भु-भाग र उत्तर-पुर्वमा रहेको विभिन्न हिम शृङ्खलाहरुको अवलोकन गर्न सकिने भएकाले आन्तरिक तथा बाहय पर्यटकहरु जो कोहि एक पटक पुग्नै पर्ने र घुम्नै पर्ने ठाँउ भएको स्थानीय मुरुल्ले म्याग्जिनगढि पर्यटन विकास संस्थाका अध्यक्ष चेतलाल पुनले बताउनु भयो ।
करिब तीस हेक्टरको क्षेत्रमा रहेको हिल स्टेशन सम्म पुग्न आकर्षक सिढि, रेलिङ र बिसौनी बस्ने ठाँउहरु बनाइएका छन् भने हिल स्टेशनको सबैभन्दा माथिल्लो अन्तिम भागमा पर्यटकहरुलाई विश्राम गर्न र नाचगान गरि मनोरञ्जन गर्नका लागि आकर्षक नाच घर निर्माण गरिएको छ । रुन्टिगढि गाउँपालिकाको पहल तथा पर्यटन डिभिजन कार्यालय बाकेको अरचालिस लाख रुपैयाँ र स्थानीय उपभोक्ता समितिको करिब छ लाख रुपैया गरि करिब चौवन्न लाख रुपैयाँको बजेटमा निर्माण भएको हिल स्टेशनमा जानका लागि गाउँपालिकाको होलेरी बजार देखि नजिकै रहेको दाङ्छेडि भन्ने ठाँउ बाट करिब एक सय पचास वटा सिढिहरुमा उकालो चढदै सिद्धथान डाडा हुँदै सैबाङखुटि डाडामा रहेको नाच घर सम्म पुग्न सकिने र सो ठाँउ सम्म हिल स्टेशनको क्षेत्र रहेको बताइएको छ। हिल स्टेशन निर्माण संगै पछिल्लो समयमा सो स्थानमा आन्तरिक पर्यटकहरुको चहलपहल समेत बढने गरेको स्थानीयले बताएका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता