बैतडी । बैतडीको लेक लुपुण माविले चर्किएको भवनबाट पठनपाठन सञ्चालन गरिरहेको छ । जिल्लाको सिगास गाउँपालिका-८ रहेको सो विद्यालयको भवन गत वर्षको असोजमा गएको भूकम्पले क्षति पुर्याएपछि जोखिमपूर्ण रुपमा पठन पाठन सञ्चालन भैरहेको हो ।
गत वर्षको असोज १६ गते भूकम्पले १४ कोठे पुरानो विद्यालय भवनमा क्षति पुर्याएपछि जोखिमपूर्ण रुपमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यपक हर्क सिंह धामीले बताउनुभयो । बिम, छत र भित्ता चर्किएको भवनमा विद्यार्थीहरूलाई राखेर पठनपाठन गर्नुपर्ने बाध्यता रहेको प्रअ धामीले जानकारी दिनुभयो ।
कक्षा कोठामा डराइ डराइ पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । ‘सो भवनमा कक्षा १ देखी ४ सम्मका विद्यार्थीहरू बस्ने गरेका छन् । अहिले दैनिक जसो बर्षा भैरहेको छ । छत चुहिएर विद्यार्थीहरूका कापी किताब भिज्ने गरेका छन् ।’ प्रअ धामीले भन्नुभयो ‘बिममा काठको टेको लगाएर जोखीम मोलेर कक्षा सञ्चालन गरिरहेका छौँ ।’
विद्यार्थीहरू जोखिममा रहेकाले अस्थायी कक्षाकोठा व्यवस्थापन र विद्यालयलाई आवश्यक पर्ने दिर्घकालिन भवनको माग गर्दै प्रदेशका सबै मन्त्रालयमा पुगेको विद्यालयले जनाएको छ । एक वर्षदेखि प्रदेशका मन्त्रालयमा पुगिरहेका भएपनि मागको कुनै सुनुवाइ नभएको विद्यालयका प्रधानाध्यपक धामीले बताउनुभयो ।
गतवर्ष माथिबाट खसेको पहिरोले सो विद्यालयको नवनिर्मित ४ कोठे भवनमा समेत क्षति पु¥याएको थियो । पहिरोलाई सफा गरेको भएपनि भवन सञ्चालनमा आउन नसकेको विद्यालयले जनाएको छ । पुरानो भवनको आगँनबाट खसेको पहिरो नवनिर्मीत ४ कोठे भवनमा क्षति पुर्याएको हो ।
विद्यालय नै जोखिममा रहेकाले जोखिम मोलेर पठनपाठन सञ्चालन गरिरहेको हो । विद्यालयको समस्यालाई विपद् व्यवस्थापन समिति लगायत माथील्लो निकायमा पुर्याइसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश प्रसाद भट्टले बताउनुभयो । विपद् व्यवस्थापन समितिलाई विद्यालयको जोखिमको अवस्था बारेमा जानकारी गराइसकेको उहाँले जानकारी दिनुभयो ।






