काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माण स्थल छनोट तथा तयारीका लागि तीन सदस्यीय उपसमिति गठन गरेको छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्रािप्त र आवश्यक तयारीका लागि भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।
परिषद्को सदस्य–सचिवस्तरीय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरी उपयुक्त जग्गा छनोट गरी प्राप्तिका लागि प्रारम्भिक चरणको कार्य गर्नुपर्नेछ । यस्तै जग्गा यकिन भएपछि २०८१ असोज महिनाभित्र डिपिआरका लागि आधार तयार गर्ने कार्यादेश उपसमितिलाई दिइएको छ ।
उपसमितिले कार्यादेशअनुसारको काम सम्पन्न गरी ३० दिनभित्र परिषद्मा प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख गरिएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना तथा अभ्यासका लागि पर्याप्त नभएकाले सुविधा सम्पन्न कभर्डहल निर्माण आवश्यक भएको परिषद्ले जानकारी दिएको छ ।
राष्ट्रिय खेल भलिबललाई थप व्यवस्थित बनाउँदै आकर्षण बढाउने उद्देश्यले सुविधा सम्पन्न हल निर्माणका लागि पहल थालिएको परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बताउनुभयो । उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवा र राखेपका इञ्जिनियर शिवचन्द्र यादव सदस्य हुनुहुन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts