बु्रसेल । रियल मड्रिडका गोलकिपर थिबाउट कोर्टोइसले बेल्जियमका वर्तमान प्रशिक्षक डोमेनिको टेडेस्कोको प्रशिक्षणमा राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गर्नुभएको छ । विश्वकै उत्कृष्ट गोलकिपरका रूपमा चिनिने थिबाउट र टेडेस्कोबीच गतवर्ष विवाद भएको थियो । त्यसैले थिबाउट युरो कप २०२४ मा बेल्जियमको टोलीबाट बाहिरिनुभएको थियो ।
उहाँलाई युरो कपमा कोएन कास्टेल्सले प्रतिस्थापन गर्नुभएको थियो । ‘राष्ट्रिय जर्सी लगाउन पाएकोमा म गौरवान्वित महसुस गरिरहेको छु । मैले सपनामा पनि १०० भन्दा बढी पटक यस्तो गर्न सक्छु भनेर कल्पना पनि गरेको थिइनँ,’ थिबाउटले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘दुर्भाग्यवश प्रशिक्षकसँगको विवादपछि मैले टोलीमा नफर्कने निर्णय गरेको छु ।’
३२ वर्षीय गोलकिपरले गत जुनमा रियललाई च्याम्पियन्स लिग जिताउन सहयोग गर्नुभएको थियो । इटालियन मूलका जर्मन प्रशिक्षकले फेब्रुअरी २०२३ मा आफ्नो कार्यकाल सुरु गर्नुभएको थियो । तर, विश्व वरीयताको शीर्ष स्थानमा करिब तीन वर्ष बिताएको र सन् २०१८ को विश्वकपको सेमिफाइनलसम्म पुगेको टोलीले टेडेस्कोको प्रशिक्षणमा औसत नतिजा ल्याएको छ । एजेन्सी ।






