काठमाडाैं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेकाे छ ।
सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिका-६ ईस्त्राईलकामतबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१७ पकली बस्ने २२ वर्षीय अजिन मिया र २४ वर्षीय रमत मिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै पर्साकाे वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा ८ सय ग्रामसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगंज बस्ने १९ वर्षीय उमेश थिङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनरूवाबाट खटिएको प्रहरीले भारतको रक्सौलतर्फ जाँदै गरेका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी मोरङकाे विराटनगर महानगरपालिका-१७ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-७ बस्ने ३४ वर्षीय मिलन श्रेष्ठलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै कैलालीकाे धनगढी उपमहानगरपालिका-१ शिवनगरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८५ मिलिग्रामसहित सोही उपमहानगरपालिका-७ बेली बस्ने २१ वर्षीय राहुल चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले से.५ प ६३०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै मोटरसाइकलमा सवार हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।






