काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार युवक पनि झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा झुन्डिएको अवस्थामा मृत फेला परेको ओखलढुंगा प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो उनी ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय खड्का मृत भेटिएकी थिइन् ।
सुस्मिताको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले निष्कर्ष निकालेको छ भने सँगै होटलमा बसेका भनिएका देवबहादुर त्यस दिनयता फरार थिए । उनी आज झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुंगाका थापा पनि सुस्मिता सँग सोही होटलमा बस्न पुगेको खुलेको थियो । सुस्मितासँगै बसेका भनिएका देवबहादुर होटलको कोठाको ढोकाबाहिर चाबी लगाएर भागेका थिए ।
सुस्मिता मृत्युको कारण खुलिसकेको छैन । पोस्टमार्टम रिपोर्ट नआउँदा मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।






