आम्सर्टडाम । आइसिसी विश्वकप लिग टु सिरिजअन्तर्गत नेदरल्याण्ड्सले अमेरिकामाथि जित हात पारेको छ । नेदरल्याण्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौँ खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो ।
नेदरल्याण्ड्समा बुधबार भएको खेलमा घरेलु टोलीले अमेरिकामाथि २७ रनको जित हात पारेको हो । नेदरल्याण्ड्सले दिएको २०७ रनको मध्यम लक्ष्य पछ्याएको अमेरिकाले ४५.५ ओभरमा अल आउट हुँदै १७९ रनमात्र बनाउन सक्यो । अमेरिकाका लागि कप्तान मोनांक पटेलले सर्वाधिक ६६ रन जोड्नुभयो । शयान जाहिंगर र हरमित सिंहले समान २० तथा शाल्डी भान साक्वयले १२ रन बनाउनुभयो ।
नेदरल्याण्ड्सका काइल क्लेनले चार, पल भान मेकरमले तीन, आर्यान दत्त र भिभियन किंग्माले समान एक विकेट लिनुभयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ४९.१ ओभरमा २०६ रन जोड्दै अल आउट भएको थियो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओडाउडले सर्वाधिक ७७ रन जाड्नुभयो ।
अर्का ओपनर माइकल लेभिटले ३८ बलमा ३३, नोहा क्रोसले ३३ बलमा २७, विक्रमजित सिंहले २१ बलमा १८ तथा आर्यान दत्तले १० रन बनाउनुभयो । अमेरिकाका लागि नोस्तुक केजिंके, शाल्डि भान साक्वय र हरमित सिंहले समान दुई विकेट लिनुभयो ।
योसँगै लिग टुको चौथो राउण्ड सकिएको छ । यस राउण्डमा घरेलु टोलीले शतप्रतिशत जित निकाल्दा क्यानडाले चारै खेल गुमायो । अमेरिकाले दुईमा जित तथा दुई खेलमा हारको सामना गर्यो । आठ टोली सहभागी लिग टुको अंक तालिकामा नेदरल्याण्ड्स १२ अंकका साथ शीर्ष स्थानमा छ । पराजित अमेरिका चार अंकका साथ पाँचौँ स्थानमा छ । अंक तालिकामा दुई अंकका साथ नेपाल सातौँ स्थानमा छ । लिग टुको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउनेछन् । एजेन्सी ।






