काठमाडौं । साहित्यिक पत्रकार संघ (सापस)ले ५३औं स्थापना दिवसको अवसर पारेर अग्रज साहित्यिक साधक तथा कलाकारलाई अभिनन्दन, सम्मानित तथा पुरस्कृत गरेको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सापस विशिष्ट सर्जक सम्मान तेजेश्वरबाबु ग्वङ्ग, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ, रामबाबु सुवेदी, डा.दुबसु क्षेत्री र वसुन्धरा भुसाललाई अर्पण गरेको छ ।
त्यस्तै संघले मणि लोहनीलाई व्यथित काव्य सम्मान, सुरेन उप्रेतीलाई व्यथित काव्य डायस्पोरा सम्मान तथा साहित्यकारहरू देवीभक्त श्रेष्ठ, सविता श्रेष्ठ ‘बेहोसी’, बाबुराम श्रेष्ठलाई सम्मानित गर्यो । संघले लीलादेवी श्रेष्ठलाई १० हजार नगद राशिसहित लोकप्रिया पुरस्कार अर्पण गर्यो ।
संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति कलाकार के.के.कर्माचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ समालोचक प्राडा.गोविन्दराज भट्टराई, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् सुरेन्द्र केसी, प्राज्ञ माया ठकुरी, प्राज्ञ उन्नति शीला बोहरा, चर्चित समालोचक प्रमोद प्रधान, गीतकार तथा समाजसेवी शोभित उप्रेती तथा सापसका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बाल कलाकार रञ्जना थपलियाले आफ्नो सुन्दर नृत्य प्रस्तुत गर्नुभएको थियो भने सापसका कोषाध्यक्ष कथाकार पदमावती सिंहले स्वागत मन्तव्य राख्नुभएको थियो । श्रीबाबु कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न साहित्यकार, कलाकार, पत्रकारलगायतको बाक्लो उपस्थिति थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता