काठमाडौं । श्रीलंकाविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा भारतले रोचक जित निकालेको छ। यसअघि सिरिजका दुई खेल जितिसकेको भारतविरुद्ध शानदार प्रदर्शन गरेको श्रीलंका अन्तिम खेलमा सुपर ओभरमा पराजित भएको हो।
टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। १३८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ विकेटको क्षतिमा १३७ रन बनाउँदै खेल सुपर ओभरमा पुगेकाे थियाे ।
सुपर ओभरमा पहिलो ब्याटिङ गरेको श्रीलंकाले दुई विकेट गुमाएर भारतलाई मात्र तीन रनको लक्ष्य दियो। उसका लागि कुसल मेन्डिसले दुई बलमा एक रन जोडे भने कुसल परेरा, पथुम निसानका शून्यमै आउट भए। अर्को एक रन वाइड पाएको श्रीलंकाले मात्र दुई रन जोडेको हो। भारतका वासिङ्टन सुन्दरले चार बल फाल्दा दुई विकेट हात पारेका हुन्।
३ रनको लक्ष्य पछ्याएको भारतका लागि कप्तान सूर्यकुमार यादवले पहिलो बलमा चौका प्रहार गर्दै रोचक जित निकालेका हुन्। यो रोचक जितसँगै भारतले श्रीलंकाविरुद्धको टी–२० सिरिजमा ३-० को शानदार जित निकालेको छ ।
पहिलो खेलमा ४३ रनको जित निकालेको भारतले वर्षाका कारण अवरुद्ध भएको दोस्रो खेलमा डिएलएस पद्धतिमा ७ विकेटको जित निकालेको थियो। अब भारतले श्रीलंकासँगै ओडिआइका तीन खेलको सिरिज खेल्नेछ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता