काठमाडौं । यही शुक्रबारदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’का कलाकारहरूले बागमती नदीमा र्याफ्टिङको शुभारम्भ गरेका छन् । चलचित्रका कलाकार वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा र्याफ्टिङको शुभारम्भ गर्नुभएको हो । नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्राअन्तर्गत शनिबार र्याफ्टिङको शुभारम्भ भएको हो ।
थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले र्याफ्टिङ गर्नुभएको थियो । अभिनेत्री वर्षा सिवाकोटीले नदी संरक्षणमा राज्यको दायित्व हुनुपर्ने बताउनुभयो । त्यस्तै, अभिनेता अमरप्रताप श्रेष्ठले यो अभियानलाई सबैले मिलेर सफल बनाउन पर्ने र काठमाडौंमा नै र्याफ्टिङको मज्जा लिन पाउँदा आन्तरिकसँगै विदेशी पर्यटकका लागि पनि आकर्षण हुनसक्ने जिकिर गर्नुभयो ।
बागमती सभ्यतालाई बचाउन नागरिकलाई जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष बागमतीमा र्याफ्टिङको आयोजना हुने गर्छ, जहाँ सयौं जनाले एकसाथ र्याफ्टिङ गर्ने गर्छन् । आइतबारदेखि थापाथलीदेखि चोभारसम्म सर्वसाधारणका लागि पनि ¥याफ्टिङ खुला गरिएको छ । यसका लागि विद्यार्थीलाई पाँच सय र अन्यलाई नौ सय रुपैयाँ तोकिएको छ ।
काठमाडौंमा पनि र्याफ्टिङ नियमित हुनुभनेको ऐतिहासिक काम भएको र यो सबैको देन बागमती सभ्यता अभियानलाई जाने सामाजिक अभियन्ता चक्र चन्दले बताउनुभयो ।
शंकर कोइरालाले निर्देशन रहेको ‘मोदीबेनी’मा वर्षा र अमरसँगै सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुव्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, सुरेन्द्र बराल, रोजी श्रेष्ठ, हिउवाला गौतमलगायत कालाकारको अभिनय छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहनुभएको छ ।
चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेख्नुभएको हो । यसमा उत्सव दाहालको छायांकन र भरत रेग्मीको सम्पादन छ । चलचित्रमा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन छ । ट्राइडेन्ट कन्सेप्टको पोष्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको यस चलचित्रलाई ऋच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता