
पेरिस । पेरिस ओलम्पिकको तयारी अन्तिम चरणमा पुगेको छ । पेरिस ओलम्पिकको शुक्रबार उद्घाटन उद्घाटन हुनेछ । पेरिस ओलम्पिकका सुप्रिमो टोनी एस्टान्गुएटले आइतबार पत्रकार सम्मेलन गर्दै शहर खेलका लागि ‘तयार’ रहेको बताउनुभएको छ । ‘हामी अन्तिम चरणमा पुग्दा तयार छौँ,’ पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘समापन समारोह समाप्त नभएसम्म हामीले सतर्क रहन आवश्यक छ तर आज हामी ठीक त्यही स्थानमा छौँ । जहाँ हामीले केही वर्षअघि सपना देखेका थियौँ ।’
सिटी अफ लाइटमा आयोजनास्थलहरूलाई अन्तिम रूप दिइएको उहाँले बताउनुभयो । उहाँका अनुसार हजारौँ खेलाडी र अधिकारीहरू आइरहेका छन् । महिनौँको वर्षापछि मौसम पनि उज्यालो भएको छ ।
आयोजकहरूका लागि थप प्रोत्साहनका रूपमा सिन नदीको पानीको गुणस्तर पनि जुलाईको सुरुदेखि नाटकीय रूपमा सुधार भएको छ । उक्त नदीको प्रयोग आउटडोर ओलम्पिक पौडी कार्यक्रमहरूका लागि निर्धारण गरिएको छ । ‘यो स्तरमा सिनका लागि सबै सूचकहरू सकारात्मक छन्,’ उहाँले भन्नुभयो । नदीमा आगामी शुक्रबार उद्घाटन समारोह आयोजनाको तयारी गरिएको छ । नदीमा छ हजारदेखि सात हजार खेलाडी ८५ वटा नौका र डुंगामा यात्रा गर्नेछन् ।
ग्रीष्मकालीन ओलम्पिक मुख्य एथलेटिक्स स्टेडियमबाहिर खेलिने यो पहिलोपटक हुनेछ । यसमा तीन लाख टिकटसहितका दर्शकहरू स्ट्याण्ड र नदीको किनारबाट तथा दुई लाख दर्शकले अपार्टमेन्टहरूबाट हेर्ने अपेक्षा गरिएको छ । एस्टन्गुएटका अनुसार करिब चार हजार टिकट अझै पनि उपलब्ध छन् । ‘खेलहरूले फ्रान्सलाई चम्काउन सकून् भनेर हामीले जहिले पनि सम्भव भएसम्म उच्चस्तरको महत्वाकांक्षा कायम राख्ने प्रयास गरेका छौँ,’ उहाँले भन्नुभयो ।
नदी किनार र ओलम्पिक स्थलहरू वरपरका धेरै मानिसका लागि मध्य पेरिसको ठूलो भाग निषेध गरिएकाले उद्घाटन समारोहका लागि आवश्यक व्यापक सुरक्षा अभियानका कारण केही टकराव निम्त्याइरहेको छ । पेरिसका पसल, रेस्टुरेन्ट, बार र क्लबहरूको प्रतिनिधित्व गर्ने व्यापार समूहहरूले शुक्रबार ‘भारी सुरक्षा उपायहरू’ लाई दोष दिँदै ‘व्यापार र ग्राहकहरूको संख्यामा अभूतपूर्व गिरावट’ को सामना गर्नुपरेको गुनासो गरेका छन् । शहरको मुटुमा उद्घाटन समारोहका साथै अधिकांश खेल पेरिस वरपरका अस्थायी स्थानहरूमा हुँदैछन् । यसमा एफिल टावरमा बिच भलिबल, इनभलाइड्समा आर्चरी र प्लेस डे ला कन्कोर्डमा स्केटबोर्डिङ खेल समावेश छन् ।
फ्रान्सेली सुरक्षा बलका करिब ४५ हजार सदस्य शुक्रबार साँझ ७ः३० मा ओलम्पिक सुरु हुँदा ड्युटीमा हुनेछन् । एस्टान्गुएटले पेरिस २०२४ का लागि सुरक्षा पहिलो प्राथमिकता रहेको बताउनुभयो । साइबर सुरक्षा पनि प्रमुख चिन्ताको विषय बनेको छ । गत शुक्रबार क्राउडस्ट्राइक सफ्टवेयर अपडेटका कारण खेलहरूका लागि प्रयोग गरिएको मान्यता प्रणालीमा अस्थायी अवरोध उत्पन्न भएको थियो । रुसमाथि लगाइएका हालैका घटनाहरूपछि खेलकुदको महाकुम्भलाई निशाना बनाएर दुष्प्रचारका आक्रमणका लागि तयारी गरिरहेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले बताएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच