काठमाडौं । ख्यातिप्राप्त अभिनेत्री तथा कुशल नृत्य कलाकार मिथिला शर्मा बोहराले आफ्नो नृत्य र अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरूप उहाँहरूको नाममा पुरस्कार स्थापना गरी नगद राशीसहित कलाकर्मीलाई प्रदान गर्नुभएको छ । शर्माले आइतबार गुरु पूर्णिमाको अवसर पारेर राजधानीमा एक कार्यक्रम आयोजना गरि सो पुरस्कार प्रदान गर्नुभएको हो ।
नेपाल प्रज्ञा प्रष्ठिानमा सम्पन्न कार्यक्रममा मिथिलाले आफ्ना गुरु संगीत साधक स्व.गोपाल योञ्जनको नाममा स्थापित गोपाल योञ्जन संगीत साधना पुरस्कार संगीतकार शिलाबहादुर मोक्तानलाई प्रदान गरिएको छ । यस्तै चलचित्र लेखक, निर्देशक तथा गीतकार स्व.चेतन कार्कीको नाममा स्थापित चेतन कार्की गीती वाङ्मय पुरस्कार गीतकार श्रीपुरुष ढकाललाई प्रदान गरिएको छ । त्यस्तै हाँस्य जोडी स्व.राजपाल थापा र स्व.ध्रुवरत्न हाडाको नाममा स्थापित हाडा एण्ड पाल हास्य वाङमय पुरस्कार हास्यव्यग्य जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ ।
स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा सहभागी हुन नसक्नुभएका हरिवंशको पुरस्कार भने उहाँका छोरा मोहित आचार्यले ग्रहण गर्नुभएको थियो । समारोहमा पुरस्कार प्रमुख अतिथि पूर्वप्रहरी महानिरीक्षक दुर्लभकुमार थापा, अभिनेता नीर शाह, अभिनेत्रीहरू बसुन्धरा भुसाल, चैत्यदेवी, मिथिला शर्मा, गोपाल योञ्जनकी पत्नी रिन्छेन योञ्जन, चेतन कार्कीकी पत्नी गंगा कार्की, ध्रुवरत्न हाडाकी पत्नी मोहीनी हाडा र राजपाल थापाको छोरा कपिल थापालगायतले सम्मान अर्पण गर्नुभएको थियो ।
समारोहमा बोल्दै अभिनेत्री मिथिला शर्मा बोहराले अग्रजले कला साहित्य संगीत, नृत्य हाँस्यलगायतका विधामा रचेको इतिहासलाई अगाडि बढाउने वाचा गर्नुभयो ।






