काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरूलाई मुलुकभित्रै भविष्य खोज्ने वातवरण बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा राष्ट्रिय युवा परिषद्सँगको ब्रिफिङमा बोल्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । ‘नेपाली युवाहरूलाई उद्यमशीलताको बाटोमा सहज ढंगले लाग्ने वातवरण बनाउनुपर्दछ । नेपाली युवाहरूलाई मुलुकभित्रै भविष्य खोज्ने वातवरण बनाउनु नै मुख्य चुनौती हो । यसबारे सबै सरोकारवालाले गम्भीर भएर लाग्नुपर्दछ’, मन्त्री चौधरीले भन्नुभयो ।
उहाँले युवा शक्तिलाई परिचालन गर्न सकेमात्र मुलुकले समृद्धिको पाइला चाल्न सकिने जिकिर गर्नुभयो । मन्त्री चौधरीले युवा जनशक्तिको बढ्दो पलायनमा चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘नेपाली युवाहरू दिनदिनै एयरपोर्टबाट विदेश उडिरहेका छन्,’ मन्त्री चौधरीले चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘युवा पलायन किन भइरहेका छन्, यसबारेमा सोच्न् बेला आएको छ ।’
कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरूको अपेक्षाका तुलनामा बजेट अपर्याप्त रहेको बताउनुभयो । बस्नेतले कुल जनसंख्याको ४२.५६ प्रतिशत जनसंख्या युवाको रहेकाले युवाको सवाल र समस्यालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले युवा उद्यमशीलतालाई प्रवद्र्धन गर्नका लागि कार्यविधि संशोधन गरेर युवा उद्यम कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव सुमनराज अर्यालले मन्त्रालय र परिषद्बीच समन्वय गरी युवाक पक्षमा नतिजामुखी काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा परिषद्का प्रशासकीय प्रमुख दिनेश घिमिरले परिषद्कातर्फबाट भएका कामसहित नयाँ आर्थिक वर्षमा गरिने कार्यक्रम र योजनाको विस्तृत रिपोर्ट पेश गर्नुभएको थियो ।






