काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक टिम भएर अगाडि बढ्न तयार रहेको बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहनुभएका खेलकुद मन्त्री चौधरीले उहाँको सम्मानमा राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सो कुरा बताउनुभएको हो । ‘म मन्त्री भएको केही दिनमात्र भएको छ । छोटो अवधिमा पनि मैले खेलकुदलाई कसरी विकास गर्न सकिन्छ । योजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राखेपका सदस्य-सचिव र सरोकारवालासँग बिहानदेखि बेलुकीसम्म छलफल गरिरहेको छु ।’ मन्त्री चौधरीले भन्नुभयो, ‘खेलकुदलाई विकासको बाटोमा डोहोर्याउन सरोकारवालासँग एक टिम भएर अगाडि बढ्न तयार छु ।’
मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले तीन सय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने गरेको निर्णयका सम्बन्धमा सदस्य-सचिवसँग छलफल भइरहेको बताउनुभयो । मन्त्री चौधरीले १०औँ राष्ट्रिय खेलकुदलगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने बताउनुभयो । उहाँले नेपाली खेलाडी मेहनती, लगनशील र संघर्ष गर्न सक्ने भएको बताउँदै छोटो तयारीबाट खेलाडीबाट ठूलो अपेक्षा गर्न नसकिने बताउनुभयो ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्रीज्यूको लक्ष्यलाई पूरा गर्न राखेप टिम सहयात्री बनेर काम गर्न तयार रहेको बताउनुभयो । उहाँले राखेपका योजनाहरूलाई कार्यान्वयन गर्न बोर्ड बैठक अनिवार्य भएको बताउँदै आफ्नो कार्यकालको अन्तिम दिन (यही साउन १४ गते) सम्ममा मन्त्रीज्यूसँग बोर्ड बैठकमा सहभागी हुन पाउने विश्वास व्यक्त गर्नुभयो ।
राखेपका सदस्य-सचिव टंकलाल घिसिङले खेलकुदलाई गहिराइमा बुझेको नेतृत्व पाएकोमा खुसी व्यक्त गर्दै असल सारथी बनेर काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबीच बिहीबारै सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सदस्य-सचिव घिसिङले खेलकुद मन्त्री चौधरीलाई राखेपका कार्ययोजनाहरू विस्तृत रूपमा पनि प्रस्तुत गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता