पेरिस । पेरिस ओलम्पिक सुरु हुन अब लगभग एक सातामात्रै बाँकी छ । यसको तयारी तीव्ररूपमा भइरहेको छ । ग्रीष्मकालीन ओलम्पिकको इतिहासमा पहिलोपटक उद्घाटन समारोह रंगशालामा नभई नदी किनारमा हुने भएको छ । करिब तीन घण्टा लामो कार्यक्रममा तीन हजार कलाकारले प्रस्तुति दिनेछन् । पेरिसले जुलाई २६ मा सेइन नदीमा डुंगा परेडका साथ खेलहरूको उद्घाटन गर्नेछ । पेरिस तेस्रो ओलम्पिक आयोजना गर्ने दोस्रो शहर हुनेछ । यसअघि लण्डनमा तीनवटा ओलम्पिक आयोजना भइसकेको छ । यसअघि सन् १९०० र १९२४ मा पेरिसमा ओलम्पिक आयोजना भएको थियो भने लण्डनले सन् १९०८, १९४८, २०१२ मा आयोजना गरेको थियो ।
ग्रीष्मकालीन खेलहरू पेरिसमा १०० वर्षपछि आयोजना हुँदैछन्, जसको आदर्श वाक्य हो- ‘गेम्स वाइड ओपन’ अर्थात् खेलहरू ठूला, फरक र अधिक खुला छन् । उद्घाटन कार्यक्रममा ६ लाख दर्शक आउने अपेक्षा गरिएको छ, जसमध्ये दुई लाख २२ हजार टिकटमात्रै बाँडिएको छ । उद्घाटनमात्रै दुनियाँभरबाट करिब १५० करोड दर्शकले हेर्न पाउनेछन् ।
१७ दिनको खेलका लागि आयोजकले एक करोड टिकट दिने भएको छ । जसमध्ये ९० लाख टिकट बिक्री भइसकेका छन् । ओलम्पिक टर्च रिले १६ अप्रिलबाट सुरु भएको थियो । ग्रीसको ओलम्पियामा ओलम्पिकको ज्वाला प्रज्ज्वलित भएपछि २६ अप्रिलमा एथेन्स पुगेको हो ।
त्यसपछि ९ मेमा मार्सेली पुगेको थियो । यसपछि मोनाकोमा केही समय बसेपछि फ्रान्सको भ्रमण सुरु भएको हो । यसले जुलाई २६ मा उद्घाटन समारोहमा ओलम्पिक काल्ड्रनलाई प्रज्ज्वलित गर्नेछ । भ्रमणका क्रममा १० हजार व्यक्तिले टर्च बोक्नेछन्, जसमा खेलाडी र सेलिब्रेटीहरू पनि छन् । भ्रमणका क्रममा यसले युनेस्कोका ३० वटा विश्व सम्पदास्थलको पनि भ्रमण गर्नेछ । ६८ दिनको यात्रामा फ्रान्समा ओलम्पिकको ज्वालाले १२ हजार किलोमिटर यात्रा गर्नेछ ।
पेरिसको एक लक्जरी ज्वेलरी फर्मले खेलका लागि ५०८४ पदक बनाएको छ । प्रत्येक पदकमा एफिल टावरबाट १८ ग्राम धातु पनि थपिएको छ । ओलम्पिक २०२४ क्षेत्रफलको हिसाबले पनि सबैभन्दा ठूलो ओलम्पिक हुनेछ । यसको खेल पेरिससहित अन्य १६ शहरमा पनि खेलाइनेछ । यसका केही स्थानहरू होस्ट शहर पेरिसबाट १० किलोमिटरदेखि ७०० किलोमिटर टाढा छन् । ओलम्पिक सर्फिङ फ्रान्सको विदेशी क्षेत्रमा आयोजित गरिनेछ । यो ओलम्पिक इतिहासमा पहिलोपटक हुनेछ । एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा