काठमाडौं । धर्मराज-सावित्री थापा प्रतिष्ठानद्वारा मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा जनक विकेशरी धर्मराज थापाको १००औं जन्मजयन्ती तथा पुरस्कार वितरण गरिएको छ । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ५० हजार राशिको धर्मराज-सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार-२०८० साहित्यकार वैरागी काइँला र धर्मराज-सावित्री थापा लोकगीत संगीत पुरस्कार एल पी जोशीलाई अर्पण गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले लोक-संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता, सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभयो । उहाँले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारको योगदान महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।
‘लोक कलाकार तथा लोक-संस्कृतिकर्मी राष्ट्रका गहना हुन्, लोक-साहित्यकार, संस्कृतिविद् र कलाकारको चेतना राष्ट्रको चेतना हो, सिर्जनाको उपलब्धि राजनीतिक चेतनाभन्दा माथि उठ्छ’, उहाँले भन्नुभयो । नेपाल विभिन्न जातजाति, भाषाभाषी, संस्कृति तथा भौगोलिक विविधतायुक्त देश हो भन्दै राष्ट्रपति पौडेलले विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव हाम्रो विशेषता हो भन्नुभयो ।
नेपाली लोकजीवन, मनोभावना र नेपाली माटोको मर्मलाई गीतसंगीत र साहित्यका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिमा जनकविकेशरी धर्मराज थापाको विशिष्ट योगदान रहेको बताउँदै राष्ट्रपति पौडेलले नेपाली लोकसाहित्यको अध्ययन, अन्वेषण, संरक्षण र प्रवद्र्धनमा उहाँको योगदान नेपाल र नेपालीले कहिल्यै नबिर्सने बताउनुभयो ।






