काठमाडौं । श्रीलंकामा हुने एसिसी महिला एसिया कपको तयारीमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा रोमाञ्चक जित हासिल गरेको छ । नेपालले मंगलबार भएको खेलमा श्रीलंकाको एसएल डेभलवमेन्ट टिमलाई दुई रनले पराजित गरेको हो ।
नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको डेभलवमेन्ट टिम ११० रनमा रोकिन पुग्यो । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११२ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले ३७ र विन्दु रावलले २० रन बनाउनुभएको थियो ।
यसअघि भएका दुवै खेलमा नेपाल एसएल डेभलवमेन्ट टिमसँग पराजित भएको थियो । डेभलवमेन्टले पहिलो खेल ३३ रन र दोस्रो खेल चार विकेटले जितेको थियो । शुक्रबारदेखि सुरु हुने महिला एसिया कपमा नेपालले पहिलो खेल युएईसँग खेल्नेछ । दोस्रो खेल पाकिस्तान र तेस्रो खेल भारतसँग खेल्नेछ ।







Breaking news with related posts