काठमाडौं । नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकको कठिन समूहमा पर्नुभएको छ । ‘ड्र’ अनुसार पुरुष सिंगलतर्फ ३६ देशका ४१ खेलाडी प्रतिस्पर्धी छन् । उनीहरूले १३ वटा समूहमा रहेर प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नेछन् । एउटा समूहमा तीन वा चार खेलाडी रहेका छन् ।
त्यसअनुसार प्रिन्स समूह ‘पी’ मा पर्नुभएको छ । जहाँ विश्व नम्बर दुई वरीयता तथा दुईपल्टका विश्व च्याम्पियन डेनमार्कका भिक्टोर एक्सेलसनसहित तीनपल्ट ओलम्पिक खेलिसकेका इजरायलका मिसा जिल्बरमन र आयरल्याण्डका नहत गुएन रहनुभएको छ । सन् २०१२, २०१६ र २०२० को ओलम्पिक खेलेका मिसा युरोपियन च्याम्पियनसिपका पदकधारी हुनुहुन्छ । आइरिस गुएन पनि युरोपियन यू–१७ च्याम्पियनसिपका स्वर्ण विजेता हुनुहुन्छ ।
राउण्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि समूहका शीर्षस्थानमा रहने खेलाडी नकआउट पुग्नेछन् । प्रत्येक खेल बेस्ट अफ थ्रीमा हुनेछ । ब्याडमिन्टनको प्रतिस्पर्धा पेरिसस्थित पोर्टे डे ला चापेल एरिनामा जुलाई २७ देखि अगस्ट ५ सम्म हुनेछ ।
बिडब्लुएफ विश्व वरीयताप्राप्त शीर्ष १३ खेलाडीलाई वरीयता दिइएको थियो । हरेक समूहमा १-१ जना छन् । ओलम्पिकमा नेपाली ब्याडमिन्टनले पहिलोपल्ट सहभागिता जनाउन लागेको हो । त्रिपक्षीय आमन्त्रण कोटामा प्रिन्सले यो अवसर पाउनुभएको हो । उहाँ पनि नेपालका जुनियरतर्फ विश्व नम्बर एकमा पुगेको खेलाडी हुनुहुन्छ ।
घरेलु भूमिमा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा डबल्सतर्फ दुई कांस्य पदक जित्नुभएका प्रिन्सले गत वर्ष चीनमा भएको हाङचाउ एसियाड पनि खेल्नुभएको थियो । एसियाडमा उहाँ राउण्ड अफ ३२ मा पराजित हुनुभएको थियो । उहाँले दर्जनभन्दा बढी राष्ट्रिय प्रतियोगितामा सफलता पाउनुभएको छ । अहिले प्रिन्स श्रीलंकामा प्रशिक्षण गरेर स्वदेश फर्किनुभएको छ ।
आसन्न ओलम्पिकका लागि नेपालबाट प्रिन्ससहित सात खेलाडीले भाग लिने भएका छन् । त्यसमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान र सुटिङकी सुस्मिता हुनुहुन्छ ।






