ताप्लेजुङ । दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकप भदौ ३ गतेदेखि १० गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक लाखेजात्रा सञ्चालन समितिको बैठकले सो निर्णय गरेको हो । सदरमुकामस्थित भानु जनमाध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितालाई यो वर्ष थप विशिष्ट बनाउने गरी तयारीमा रहेको समितिका अध्यक्ष देवराज गुरुङले बताउनुभयो ।
प्रतियोगिता सदरमुकाम फुङ्लिङमा सञ्चालन हुनेछ । समिति अध्यक्ष गुरुङका अनुसार यसपटकदेखि गोल्डकप प्रतियोगिताको पुरस्कार राशि पनि बढाउने विषयमा छलफल भएको छ । प्रतियोगितालाई विशिष्ट बनाउन नेपालका नाम चलेका ‘ए’ डिभिजन क्लबहरूलाई आमन्त्रण गर्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।
यसअघि ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताका विजेताले तीन लाख ११ हजार १११ र उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँ राशिको नगद पुरस्कार पाउँदै आएका थिए । यस वर्षदेखि पुरस्कार राशि कति वृद्धि गर्ने भन्ने विषयमा समितिको अर्को बैठक बसेर निर्णय गरिने अध्यक्ष गुरुङको भनाइ छ । गत वर्षको प्रतियोगिताबाट आयोजकले २० लाखभन्दा बढी रकम बचत गर्न सफल भएका थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता