एजेन्सी । अर्जेन्टिनाका अट्याकिङ मिडफिल्डर एन्जेल डि मारियाले आइतबार हुने कोपा अमेरिकाको फाइनलपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिनुहुने भएको छ ।
फ्लोरिडाको मियामी गार्डेन्समा आइतबार कोपा अमेरिकाको फाइनल हुँदैछ । सोही फाइनलपछि ३६ वर्षीय डि मारियाले सन्न्यास लिने हुनुभएको हो । उहाँले सन् २००८ मा अर्जेन्टिनी टोलीमा डेब्यु गर्नुभएको थियो । उहाँले १४४ खेलमा ३१ गोल गर्नुभएको छ ।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना कोपा अमेरिकाको उपाधि जिताएर आफूले सन्न्यास लिन चाहेको उहाँले बताउनुभयो । ‘यो मेरो अन्तिम खेल हो । म सबै अर्जेन्टिनी र यो पुस्तालाई धन्यवाद दिन चाहन्छु जसले मलाई यति धेरै ट्रफी उचाल्न साथ दिनुभयो,’ उहाँले भन्नुभयो ।
अर्जेन्टिनालाई दोस्रोपटक विश्वकप र १५औं पटक कोपा अमेरिकाको उपाधि जिताउन कप्तान लिओनल मेसीसँगै डि मारियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । ‘हामीले उनलाई निकै मन पराएका छौं । उनले सधैं आफ्नो क्षमताभन्दा सर्वश्रेष्ठ दिएका छन् र उनी फाइनलमा सन्न्यास लिने छन्,’ मेसीले भन्नुभयो ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले डि मारियाले आफ्नो निर्णय फिर्ता लिने आशा व्यक्त गर्नुभएको छ । ‘हामी अहिले नै रुन चाहँदैनौं । हामी उदास महसुस गर्न चाहँदैनौं,’ स्कालोनीले भन्नुभयो । दक्षिण अमेरिकी विश्वकप छनोट सेप्टेम्बरमा पुनः सुरु हुनेछ र प्रत्येक टोलीले थप १२ खेल खेल्ने छन् । स्कालोनीले भन्नुभयो, ‘जबसम्म उनी चाहन्छन् तबसम्म हाम्रो टिममा रहन सक्छन् ।’








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता