चैते धान काट्न व्यस्त पाल्पाका किसान

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । यति बेला पूर्वखोलाको जल्पा, रिङ्गनेरह र विरकोटका कोही किसानहरु खेतमा धमाधम धान काट्न तल्लीन छन् त कोही धानका भारी पिँठ्यूमा बोकेर खलामा लैजादै छन् । कतै ब्याड राख्दै गरेको त कतै मचामच धान काट्ने र भित्र्याउने गरेका दृश्यले त्यहाँ पुग्दा फाँट नै रमणीय देख्न सकिन्छ ।

मध्य असार लाग्नै लाग्दा पूर्वखोलाकासँगै पाल्पाका अन्य फाँटहरुमा किसान चैते धान काट्नमा व्यस्त छन् । बर्खे धान रोप्ने बेला हुन लागेको र धान पाकिसकेपछि यहाँका किसान अहिले धमाधम धान काटेर भित्र्याउन थालेका हुन् । धान भित्र्याउने र लगाउने सिजन भएकाले गाउँका सबै किसान खेतबारीमा व्यस्त रहेको पूर्वखोला गाउँपालिका रिङ्गनेरहकी किसान सीता थापाले बताउनुभयो । ‘मध्य बर्खा भइसक्यो आकाशको भर छैन जतिखेर पनि पानी दर्किन सक्छ,’ उहाँले भन्नुभयो, ‘खेतमा पाकेको धान समयमै भित्र्याउन नसक्ने हो भने धान सबै खेतमै नोक्सान हुन्छ ।’

गत चैतमा ब्याड राखेर वैशाखमा थापाले झण्डै ५ रोपनी क्षेत्रफलमा चैते धान रोप्नुभएको छ । तीन महिना पुग्दा नपुग्दै धान खेतमा पहेंलपुर भइसकेको छ । एकातिर समयमै धान नकाटे पानीले नोक्सान गर्छ भने अर्कोतर्फ छिटो धान भित्र्याएर फेरि बर्खे धान रोप्नु छ । बर्खे धान खेतीका लागि थापाले एउटा गह्रामा ब्याड पनि राखिसक्नुभएको छ । ‘अब यो खेतको चैते धान भित्र्याउना साथ खेत तयार पार्नुपर्छ,’ थापाले भन्नुभयो, ‘लगत्तै साउनमा बर्खे धान रोप्ने क्रम सुरू हुन्छ र त्यसका लागि लगभग ब्याड तयार भइसकेको छ ।’ वर्षाको डरले धमाधम धान काटेर तत्कालै स्याहार्न लागेको उहाँले बताउनुुभयो ।

जल्पाकी मिना कामुको परिवारलाई पनि यतिखेर चैते धान भित्र्याउन निकै चटारो छ । उहाँले केही मानिसहरू लगाएर भए पनि धमाधम धान काटिरहेको बताउनुभयो । ‘अब हामीजस्ता किसानले यस्तो बेला घाम, पानी र रात-दिन नभनी काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘पाकेको बाली समयमै भित्र्याउन नसक्ने हो भने बर्बादै हुन्छ र हाम्रो सबै मेहनत खेर गइजान्छ ।’ कामुको खेतमा पनि बर्षे धान खेतीको लागि ब्याड लगभग तयारी अवस्थामा छ । चैत धान काटेर सक्ना साथ फेरि खेत जोत्ने र वर्षे धान रोप्ने क्रम सुरू हुने उहाँले बताउनुभयो । कामु र थापा जस्तै यहाँका किसानहरुलाई धान स्याहार्न भ्याइ नभ्याइ छ । पुर्वखोला फाँटका अधिकांश किसानहरूले बषौंदेखी चैते धान लगाउने गरेका छन् । दुई वाली नै धान खेती लगाएकाले घरकै धान खेतीबाट खान पुग्ने गर्दछ ।

ADVERTISEMENT

असार-साउन र कार्तिक-मंसिरमा नयाँ धान भित्र्यााउने भएकाले बढी भएको बिक्री गरेर आम्दानी समेत गर्ने गरेको किसानहरूको भनाइ छ । पूर्वखोला कृषिका लागि उर्वर भएकाले यहाँका अधिकांस किसान कृषिमा आवद्ध रहेको पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिलाई नै प्राथमिकतामा राखेको समेत बताउनुभयो ।

चैते धानलाई बर्खे धानजस्तो प्रशस्त पानी नभए पनि हुने तर, सिँचाइको सुविधा भए झनै राम्रो उत्पादन लिन सकिने किसानहरु बताउँछन् । विषेशतः खोला खेतमा चैते धान रोपिन्छ । सिंचाई सुविधा भएका खोला खेतहरुमा चैते र बर्षे गरी दुई पटक धान रोप्ने गरिन्छ । सिंचाईको पानी प्रशस्त भएका पूर्वखोला, रम्भा गाउँपालिका, तिनाउ र रामपुर नगरपालिकाका फाँटहरुमा चैते धान रोप्ने गरिन्छ । जिल्लामा करिव ६ सय ५० हेक्टरमा क्षेत्रफलमा चैते धानको खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो ‘बर्खे धान भन्दा चैते धानको उत्पादन राम्रो हुन्छ, सिचाँइ सुविधा भएका ठाउँका किसानहरुले चैते धान लगाउने गरेका छन् ।’

प्रमुख चौधरीका अनुसार जिल्लामा सिँचाइ सुविधा हुने हो भने बर्खे धान खेती हुने अधिकांश ठाउँमा चैते धान खेती सहजै गर्न सकिने अवस्था छ । केही वर्ष पहिलेसम्म चैते धान रोप्ने किसानलाई सरकारले प्रोत्साहन स्वरूप धानको बिउ निःशुल्क रूपमा प्रदान गर्दथ्यो । तर, पछिल्लो समय बिउ पनि दिन छोडिएको छ । कृषि ज्ञान केन्द्रले भने कृषि प्रदर्शन कार्यक्रम अन्र्तगतको बजेटमार्फत रामपुरको तल्लो बढेमानको १० हेक्टर र अघाखोलामा ६० रोपनी क्षेत्रफलमा चैते ५ जातको धानको विउ दिइएको प्रमुख चौधरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *