पाल्पा । खानेपानी मन्त्री प्रदीप यादवले डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य गर्ने बताउनुभएको छ । पाल्पा आउनुभएका मन्त्री यादवले तानसेन खानेपानी उपभोक्ता समितिले आयोजना गरेको सरोकारवाला निकायहरुसँगको छलफलमा डोकोमा पानी बोकेर खानुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो ‘अझै पनि पानीको समस्याका कारण घण्टौंं हिडेर डोकोमा पानी बोक्नुपर्ने बाध्यता छ, त्यसको अन्त्य गर्ने र्छौं ।’ मन्त्री यादवले तानसेनको खानेपानी समस्या समाधान गर्न आवश्यक भौतिक पूर्वाधारको लागि बजेटको कुनै पनि कमी हुन नदिने बताउनुभयो । उहाँले स्थानीय र प्रदेश सरकारसँग नदोहारिने गरी योजना ल्याउन समितिलाई समेत आग्रह गर्नुभयो । मन्त्री यादवले भन्नुभयो‘ स्थानीय र प्रदेश सरकारले छुट्याका बाहेक खानेपानी योजनाहरु ल्याउनुहोस् हामी आवश्यक बजेट विनियोजन गर्छौं त्यसमा ढुक्क हुनुहोस् ।’
मन्त्री यादवले आफुले पाल्पाको खानेपानीको समस्याका बारेमा राम्रोसँग बुझ्ने अवसर पाएकोले त्यसको समाधानमा प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । उहाँले तानसेनको खानेपानी समस्या मात्र नभई समग्र जिल्लाको समस्या समाधानमा आफ्नो मन्त्रालयले काम गर्ने उल्लेख गर्नुभयो । मन्त्री यादवले खानेपानीका लागि आवश्यक योजना बनाएर ल्याउन जिल्लावासीलाई आग्रह गर्नुभयो । उहाँले ‘यहाँको समस्या समाधानका लागि के गर्नु पर्छ त्यसका लागि योजना बनाएर ल्याउनुहोस् हामी आवश्यक बजेट विनियोजन गर्छौ ।’ मन्त्री यादवले अर्को आर्थिक वर्षाका लागि पाल्पामा खानेपानीको क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्ने समेत प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,‘बजेटको चिन्ता नगर्नुहोस् तपाईहरुले नसोचेको बजेट पाल्पालाई पर्ने छ ।’ आफ्नो कार्यकालमा पाल्पाको खानेपानी समस्याको अन्त्य गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले तानसेनको खानेपानीको अवस्थाको बारेमा मन्त्री यादवलाई जानकारी गराउनुभएको थियो । उहाँले आफुहरु आएपछि तानसेनको विकराल खानेपानी समस्या समाधान गरेको र केही भौतिक पूर्वधार निर्माण नहुँदा समस्या आएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले खानेपानी वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै न्यायोचित ढंगले वितरण गर्दै आएको बताउँदै आवश्यक पूर्वधार नहुँदा केही समस्या भएकाले त्यसको लागि संघीय सरकारले आवश्यक बजेट विनियोजन गरिदिन आग्रह गर्नुभयो । अध्यक्ष श्रेष्ठले कालीगण्डकीको लिफ्टिङ पानीले तानसेनवासीलाई केही राहत भए पनि गरिबलाई सेतो हात्ती जस्तै भएको बताउनुभयो । उहाँले सरकारले योजना ल्याएर काम गरे पनि लगानी नगर्दा समस्या आएको उल्लेख गर्नुभयो ।
तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले बजेट नहुँदा प्राप्त मात्रमा खानेपानीको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न नसकिएको बताउनुभयो । उहाँले खानेपानीको पूर्वाधार निर्माणमा ध्यान दिन संघीय सरकारलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेकपा एकिकृत समाजवादी पाल्पाका अध्यक्ष अशोक कुमार शाहीले खानेपानी समस्याका कारण तानसेनबाट बसाइसराई बढ्दो रहेको बताउनुभयो । उहाँले विगतमा व्यवस्थित र न्यायोचित ढंगले खानेपानी वितरण नहुँदा तानसेनको ठूला जनसंख्या बसाईसराई गरिसकेको उल्लेख गर्नुभयो । नेता शाहीले अहिलेको समितिले भने समस्या समाधानमा केही हदसम्म भए पनि महत्वपुर्ण काम गरेको भन्दै त्यसमा सरकारले समेत साथ दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements