पाल्पा । पाल्पा सदरमुकाम तानसेनका महिलाहरू यति बेला विभिन्न स्वरोजगारमूलक सिप सिक्न व्यस्त छन् । स्थानीय सरकार र विभिन्न संघ संस्थाहरुको सहयोगमा तानसेन नगरपालिका-३ र ४ का महिलाहरु सिप सिक्न कम्मर कसेर लागेका हुन् ।
गतिलो रोजगार नभएपछि विभिन्न सिप प्रयोग गरेर आत्मनिर्भर हुने प्रयासमा यहाँका महिलाहरु लागेका छन् । घर चलाउन, उपचार अनि सन्तानको शिक्षाको खर्च जुटाउन आम्दानीको वैकल्पिक व्यवस्थाका लागि उनीहरु विभिन्न खाले सिप सिक्न अग्रसर भएका हुन् । त्यति मात्र हैन उनीहरु कला संस्कृतिको संरक्षणका लागि समेत आवश्यक बाध्यवाजन समेत सिक्न लागि परेका छन् । तानसेन-४ का महिलाहरु जुस बनाउन व्यस्त छन् । उनीहरुले स्थानीय उत्पादन प्रयोग गरेर जुस, जाम, जेली र मिक्स जाम बनाउने सिप सिकेका हुन् ।
तालिममार्फत सिप सिकेका यहाँका १२ वटा टोलविकास संस्थाका ३० जना महिलाहरुले स्थानीय उत्पादन, सुन्तला, मौसम, बेलाउती, स्याउलगायतका सरसमानहरु प्रयोग गरेर स्थानीय रुपमा जेली, जाम र जुस बनाउने काममा लागेका छन् । ४ नंं वडा कार्यालयको आर्थिक सहयोग, मखनटोल टोल विकास संस्थाको आयोजनामा ४ दिने जुस बनाउने तालिम पाएपछी महिलाहरु जुस बनाउने अभियानामा लागेका हुन् । संस्थाले यही मंसिर २८ गते देखी पुस १ गते सम्म ४ दिने जुस बनाउने तालिम सञ्चालन गरेको थियो ।
जुस, जाम बनाउँदा स्थानीय उत्पादनको प्रयोग हुने र कृषक, महिलाको आयआर्जनमा टेवा पुग्ने तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘निरन्तर जुस, जाम, जेली बनाउनुस्, गुणस्तरीय उत्पादन गर्नुस् ,एउटा उद्योगको रुपमा दर्ता गर्नुस् आवश्यक पर्ने सरससमानदेखी बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने छ ।’ नगर प्रवक्ता यादव सिंह कार्कीले तालिमलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन नगरपालिकाबाट संस्थाले खोजेको सहयोग प्रदान गर्न सकिने बताउनुभयो । वडा अध्यक्ष हेमन्तराज शाक्यले वडाका महिला लक्षित बजेटबाट महिलाको आयआर्जनमा वृद्धि गर्न, उत्पादनशिल कार्यमा महिलालाई लगाउन यो कार्यक्रम गरिएको बताउनुभयो ।
यस्तै तानसेन-३ टम्सारमा महिलाहरुले हार्मोनियम बजाउन सिकेका छन् । नेपाल राष्ट्रिय ज्ञानमाला पश्चिमाञ्चल क्षेत्रिय उपसमितिको आयोजनामा भएको महिला बौद्ध जागरण अभियानअन्तर्गत ३ महिने हार्माेनियम प्रशिक्षणमा यहाँका महिलाहरुले हार्मोनियम बजाउन सिकेका हुन् । ३ महिने प्रशिक्षणबाट बुद्ध भजनमा महिलाहरु सक्षम र सक्रिय भएका छन् । संस्कृति संरक्षणमा महिलाहरुले देखाएको सक्रियता प्रशंसनिय रहेको पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेले बताउनुभयो । बुद्ध शिक्षा र ज्ञानलाई संसारभर प्रचार-प्रसार गर्न सके नेपालको उन्नती प्रगती अझै तीव्र गतिमा हुने उहाँको भनाई छ ।






