काठमाडौं । शरदचन्द्र शाह मेमोरियल फाउण्डेसन(एससिएसएमएफ) ले खेलकुदमा योगदान पुर्याउने वरिष्ठ खेलाडी र नयाँ पुस्ताका खेलाडीलाई एससिएसएमएफ स्पोर्ट्स अवार्ड २०२४ प्रदान गर्ने भएको छ । यस वर्ष उक्त अवार्ड ओलम्पियन बैकुण्ठ मानन्धरलाई प्रदान गरिने आयोजकले जनाएको छ । मानन्धरले सन् १९७६ देखि १९८८ सम्म लगातार चार ओलम्पिक खेलमा प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले दक्षिण एसियाली खेलकुदमा लगातार तीनवटा स्वर्ण पदक जितेर रेकर्ड बनाउनुभएको थियो ।
त्यस्तै, एससिएसएमएफ खेलकुद पुरस्कार २०२४ खेलकुद क्षेत्रमा उदाउँदो सितारा ओलम्पियन अरिका गुरुङलाई प्रदान गर्ने भएको छ । उहाँले एसियाली र अन्तर्राष्ट्रिय खेलकुद-मार्सल आर्ट्स, कराँतेमा राम्रो प्रदर्शन गर्दै आउनुभएको छ । हालै चीनमा सम्पन्न १९ औँ एसियन गेम्समा पनि ऐतिहासिक रजत पदक जित्न सफल हुनुभएको थियो । दुवै विधाको पुरस्कार राशि दुई लाख ५० हजार रुपैयाँ रहेको छ ।
शरदचन्द्र शाह मेमोरियल फाउण्डेसन स्वर्गीय शरदचन्द्र शाहको सम्झनामा उहाँका परिवारजनद्वारा २०२० नोभेम्बर ३० मा स्थापना गरिएको थियो । शाह नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रूपमा चिनिनुहुन्छ । उहाँ एसियाली ओलम्पिक परिषद्को उपाध्यक्षको जिम्मेवारी पाउने पहिलो नेपाली हुनुहुन्थ्यो । नेपालमा राष्ट्रिय खेलकुदको सुरुवात र ओलम्पिक अभियान ल्याउन महत्वपूर्ण भूमिका खेल्नुहुने शाह २०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य-सचिव तथा नेपाल ओलम्पिक कमिटीको अध्यक्ष रहनुभएको थियो ।
विगतमा फाउण्डेसनले नेपाल स्पोर्ट्स फर अल कमिसनको सहकार्यमा नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भ, द डाउन अफ अ न्यु इरा इन नेपाल स्पोटर््स नामक फोटो प्रदर्शनी आयोजना गरेको थियो । ओलम्पिक डे २०२२ का अवसरमा असार १ गते सुरु प्रदर्शनी पाँच दिनसम्म सञ्चालन भएको थियो । साथै फाउण्डेसनद्वारा २०८० असार २६ गते नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।






