
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई २०८०) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक हुनेछ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक-फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ । नयाँ व्यवस्थाका कारण यस वर्ष उत्तीर्ण संख्या घट्ने सम्भावना रहेको बताइन्छ ।
त्यसो त नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना बनेको भन्दै शिक्षा नीतिको चर्को आलोचना हुँदै आएको छ । हुन पनि विद्यालयदेखि उच्च शिक्षा हासिल गरिसकेका विद्यार्थी काम नपाएर बेरोजगार बस्नुपर्ने अवस्था छ । एकातिर ठूलो शिक्षित जनशक्ति बेरोजगार छ भने अर्कोतिर रोजगारदाता निजी क्षेत्रले दक्ष जनशक्ति अभाव रहेको भन्दै विदेशी कामदार प्रयोग गरिरहेको अवस्था छ । गलत शिक्षा नीतिकै कारण नेपालका शिक्षण संस्थाहरूले बजारअनुसारको जनशक्ति उत्पादन गर्न नसकिएको बताउने गरेका छन् ।
दाङ जिल्ला तत्कालीन हापुर गाउँ पञ्चायत ९ मा २०३५ सालमा जन्मिनुभएका यादव गिरीले पनि विगत लामो समयदेखि निजी विद्यालय सञ्चालन गर्दै आउनुभएको छ । अंग्रेजी विषयको अध्यापक तथा घोराहीस्थित लिटल एञ्जल स्कुलको प्रधानाध्यापकका साथै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) का केन्द्रीय सचिवसमेत रहनुभएका गिरी अमेरिकाको न्युयोर्कमा सन् २०२३ जुलाई १६ र १७ मा सम्पन्न एक सय २३ राष्ट्र सहभागी अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा उत्कृष्ट प्रस्तुति गरेपछि थप चर्चामा हुनुहुन्छ ।
शिक्षा भनेको व्यक्तिको चाहनामात्र नभई समाज र राष्ट्रको आवश्यकताअनुसार हुनुपर्र्ने, श्रमशक्ति तथा उत्पादन प्रक्रियामा टेवा पुर्याउने खालको हुनुपर्ने, रोजगारी र स्वरोजगारीमा जोडिन सक्ने हुनुपर्नेमा गलत शिक्षा नीतिका कारण त्यस्तो हुन नसकेको उहाँ बताउनुहुन्छ ।
विद्यालयदेखि नै एउटा सीपको विकास गर्ने किसिमको बजारमुखी शिक्षा हुनुपर्नेमा विद्यार्थीहरू उत्पादन प्रक्रियाका लागि बजार उपयोगी हुन नसकेको गिरीको भनाइ छ । व्यावहारिक ज्ञानभन्दा पनि स्नातकपछि एमए र त्यसपछि अर्को विषयमा एमए गर्ने अथवा त्योभन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नमै केन्द्रित हुने प्रवृत्तिले नेपालमा उद्यमशीलता विकास र रोजगारी सिर्जना हुन नसक्ने र उद्यमशीलता विकास र रोजगारीबिना गाउँ, समाज र मुलुक समृद्ध बन्न नसक्ने उहाँ बताउनुहुन्छ ।
गिरी भन्नुहुन्छ, ‘शिक्षा नीति सैद्धान्तिकसँगै व्यावहारिक पनि हुनुपर्छ । देश विकासमा रचनात्मक भूमिका खेल्ने, नयाँ पुस्तालाई नैतिक विचलनबाट रोक्ने, आत्मकेन्द्रित सोच र वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने खालको शिक्षा नीति हुनुपर्छ । शिक्षा मौलिक, सिर्जनशील, स्वरोजगारमैत्री तथा आत्मनिर्भरमैत्री हुनुपर्छ । विद्यमान शिक्षा प्रणाली समयसापेक्ष बनाउँदै नैतिक चरित्र, संस्कारी एवं पेशागत सीप भएका नागरिक उत्पादन गर्न सकेमा नेपालको शिक्षा जीवनोपयोगी, समाज उपयोगी र देश उपयोगी हुनसक्छ । अन्तर्राष्ट्रिय बजारमा समेत नेपालको शिक्षित जनशक्तिले राम्रो अवसर पाउन सक्छ । त्यसका लागि शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि, परीक्षा प्रणाली, मूल्यांकन पद्धतिलगायतका क्षेत्रमा व्यापक सुधार र परिमार्जन आवश्यक छ ।’
विगतमा नेपाली समाज सभ्य र संयमित थियो तर अहिले सामाजिक विकृति र विसंगति बढ्दै गएको छ, नैतिकता हराउँदै गएको छ । शिक्षा रोजगारमैत्री एवं जीवन उपयोगी हुन नसकेका कारण पनि यस्तो भएको उहाँको ठहर छ । उहाँ भन्नुहुन्छ, ‘शिक्षित जनशक्ति बेरोजगार छ । स्वदेशमा काम पाइँदैन, विदेश पनि सहज छैन । जसका करण उनीहरू सामाजिक र मानसिक रूपमा पनि विक्षिप्त अवस्थामा पुग्छन् । सोही क्रममा कतिपय गलत बाटोमा लाग्छन् । कोही कुलतमा फस्ने गरेका छन् । हाम्रो शिक्षा प्रणालीले शिक्षितलाई नैतिकता, संस्कार र सीपबिनाको प्रमाणपत्रमात्र वितरण गरेकाले पनि यस्तो अवस्था आएको हो । अहिलेको शिक्षा प्रणालीले व्यक्ति वा समाजलाई नैतिकवान, सभ्य, शिष्ट, कर्मशील, संस्कारी एवं देशभक्त बनाउन सकेन । यसको मुख्य दोषी राज्य नै हो ।’
हाम्रा विद्यार्थी बजार उपयोगी भएनन्, यादव गिरी, केन्द्रीय सचिव, प्याब्सन
शैक्षिक संस्थालाई बेरोजगार उत्पादन गर्ने कारखाना भन्छन् नि ?
अहिलेसम्मको अवस्था लगभग त्यस्तै छ । शिक्षा भनेको व्यक्तिको चाहनामात्र नभई समाज र राष्ट्रको आवश्यकताअनुसार हुनुपर्छ । श्रमशक्ति तथा उत्पादन प्रक्रियामा टेवा पुर्याउने खालको हुनुपर्छ, रोजगारी र स्वरोजगारीमा जोडिन सक्ने खालको हुनुपर्छ । तर, हाम्रो शिक्षा विद्यार्थीको व्यक्तित्व विकासमा मात्रै सीमित देखिन्छ । यस्तो शिक्षाले नेपालमा उद्यमशीलता विकास र रोजगारी सिर्जना हुन सक्दैन ।
किन यस्तो भइरहेको छ त ?
गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले प्रतिफल दिएको छैन । अर्थात् लगानीको उचित सदुपयोग र व्यवस्थापन हुन नसकेकै कारण अपेक्षाअनुसारको प्रतिफल प्राप्त हुन नसकेको हो । त्यसो त शिक्षामा गरिने लगानी अन्य व्यवसायमा गरिने लगानीभन्दा फरक प्रकृतिको हुन्छ ।
तपाईले चाहिँ समाज र राष्ट्रलाई के दिनुभयो ?
शिक्षामार्फत् हालसम्म जे-जति गरेंँ, त्यो सबै समाज र राष्ट्रकै लागि हो । तर पनि समाज र राष्ट्रका लागि अझै गर्नुपर्नेछ । त्यसो त समाज र राष्ट्रबाट मैले पाएको पनि छु । अहिले जुन स्थानमा छु, सबै शिक्षा क्षेत्रकै देन हो । सम्मान दिएको छ, माया दिएको छ आत्मसन्तुष्टि दिएको छ । हाल म हाल घोराहीको लिटल एञ्जल स्कुलमा प्रधानाध्यापकका रूपमा कार्यरत छु । यहीँको शान्ति निकेतन विद्यालयको अध्यक्ष र सभ्यता पाठशाला, अन्नपूर्ण बचत तथा ऋण सहकारीको सल्लाहकार, दाङ प्याब्सनको वरिष्ठ सल्लाहकारका साथै डिएमआइटी नेपालको निर्देशकको भूमिकामा छु ।
कस्तो अध्यापनलाई असल र कुशल मान्ने ?
त्यो सार्वजनिक योग्यता र कौशलमा निर्भर रहन्छ । शिक्षाको पेशागत अनुभवले अध्ययन र अध्यापनको मापदण्ड निर्धारणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । अध्यापन प्रक्रिया र शैलीमा पेशागत अनुभवले विद्यार्थीको शिक्षा प्राप्तिमा सहयोग पुर्याउँछ । त्यस्तै शिक्षा प्रणाली र प्रविधि, पाठ्पुस्तक तथा अन्य शिक्षा संसाधनको समेत अध्यापन कार्यमा ठूलो भूमिका हुन्छ । विद्यार्थीमा ज्ञानको गुणस्तर, प्रगति, शिक्षकको प्रभाव, साक्षरता, आपसी संवाद, नैतिकता र उत्तरदायित्व वहनलगायतका विषयले पनि धेरै फरक पार्छ । यो सूचना प्रविधिको युग हो । अब पुस्तकमा लेखिएका विषयवस्तुले मात्रै विद्यार्थीलाई पुग्दैन ।
शिक्षा सेवामा लागेर कुनै सम्मान पनि पाउनुभएको छ कि ?
प्याब्सनबाट ‘प्रेसिडेन्सियल अवार्ड-२०७५’, दाङ जिल्ला प्याब्सनबाट ‘एक्सिलेन्सी अवार्ड-२०७८’, दुवईमा आयोजित इन्टरनेसनल इन्नोभेटिभ फ्युचर समिट एण्ड अवार्ड समारोहबाट ‘एक्सिलेन्सी एजुकेसन-२०२३’ लगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेको छु ।
शिक्षा क्षेत्रमै लाग्नुको कारण ?
मेरो प्रारम्भिक जीवन र जीवन संघर्षको पाटो अलि फरक छ, दुखद् छ, पीडादायी छ । जसका कारण बाल्यकालदेखि नै संघर्ष गर्नुपर्यो । प्रारम्भिक शिक्षा जन्मस्थान हालको घोराही नगरपालिका-१२ रतनपुरस्थित श्री हापुर माध्यमिक विद्यालयमा भयो । मामाघर बसेरै मैले कक्षा १० सम्मको अध्ययन पूरा गरेँ । त्यसपछि उच्च शिक्षाका लागि शहर पस्नुपर्ने बाध्यता नै भयो । पढाइ खर्च जुटाउन म ट्युसन पढाउन थालेँ । उच्च शिक्षापछि पनि शिक्षणमै मन गयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच