नेपाली चलचित्रमा पछिल्लो समयको सफलताले एक खालको आशा जगाएको छ । यसवर्षको दशैँदेखि सिनेमाघरहरूमा सार्वजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रहरू एकपछि अर्को लोकप्रिय बनिरहेका छन् । सिनेमाघरहरूमा देखिएको दर्शकहरूको चापले नेपाली चलचित्रप्रति दर्शकको मोह देखिएको छ । प्रदर्शन भएका चलचित्रहरूले निकै राम्रो कमाइ गरेपछि ती नेपाली चलचित्रबारे व्यापक चर्चा छ ।
खासगरी चाडपर्व नेपाली चलचित्रका लागि सुखद् देखिएको छ । बडादशैँ र तिहारमा सिनेमाघरसँगै ‘ओभर दि टप’ (ओटिटी)का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिए । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दशैँ र तिहारमा उच्च रहृयो । सिनेमाघरहरू नेपाली चलचित्रमय बन्यो दशैँ भने तिहारमा पनि त्यो स्प्रिड कायम नै रहृयो पछिसम्म ।
दशैँ लक्षित प्रदर्शन गरिएका चलचित्र ‘छक्का पञ्जा-५’ र ‘१२ गाउँ’ले बक्स अफिसमा आफ्नो पकड कायम राखे भने ‘ज्वाइँ साब’ले पनि दर्शकको साथ पायो । तिहार लक्षित प्रदर्शन गरिएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले त इतिहास नै रच्न सफल भयो । अहिलेसम्म सबैभन्दा धेरै कमाउने चलचित्र ‘कबड्डी ४’ थियो । त्यो चलचित्रले त्यस्तै २३/२४ करोड कमाएको बताइन्छ । ‘पूर्णबहादुरको सारंगी’ले सर्वाधिक कमाइको रेकर्ड राख्न सफल भयो । यो चलचित्र नेपाली सिने क्षेत्रमा व्यापारको नयाँ मानक नै स्थापित गर्न सफल रहृयो ।
सिनेमाघरसँगै ओटिटीमा समेत नयाँ चलचित्र प्रदर्शन आए । हलबाट उतारेर निर्देशक निश्चल बस्नेतले चलचित्र ‘मेघौली फ्रम बेहुली’लाई ओटिटीमा ल्याउनुभयो । यसले नेपाली निर्मातालाई आम्दानीको नयाँ स्रोत थपेको चलचित्रकर्मीको भनाइ छ । चलचित्र ‘महापुरुष’ तिहार लक्षित गरी युट्युबमा सार्वजनिक गरियो । दशैँ तिहारमा सिनेमाघरमा अन्य समयको तुलनामा राम्रो व्यापार हुनुका साथै घरमै चलचित्र हेर्ने दर्शकको संख्या वृद्धि भएको देखियो ।
नेपाली चलचित्र हेर्न अहिले हलमा पुगेका दर्शकको भिड हेर्दा लाग्छ, अब नेपाली चलचित्रले भोग्दै आएको व्यापारिक शून्यता सकिएको छ । भारतका चर्चित कलाकारका चलचित्रलाई विस्थापित गर्दै नेपाली कलाकारलाई हेर्न दर्शकको भिड जसरी हलमा उर्लिएको छ, यसले अब नेपाली चलचित्रमा चुनौती र आशा दुवै थपिदिएको छ ।
चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले दर्शकको उत्साहजनक साथ पायो । दर्शकको साथ पाएसँगै यो चलचित्रको सो थपिए । दर्शकबाट माग बढेपछि चलचित्र हलहरूले बिहानदेखि मध्यरातिसम्म यसको सो उपलब्ध गराए । देशको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले चलचित्रलाई बिहान ७ बजेदेखि मध्यराति सम्मको सो दिए । यो चलचित्रले बलिउडका बहुप्रतिक्षित चलचित्रहरू ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ लाई पनि सोमा पछि पार्दै आकर्षक कमाइ गर्दै इतिहास रच्न सफल भयो । चलचित्रले बक्स अफिसमा ल्याएको उछाल पर्वहरू सकिएपछि पनि कायम रहृयो । यो चलचित्र हेरेका दर्शकहरूले यसको कथावस्तु आफ्नो जीवनसँग निकट रहेको र हेरिरहँदा भावुक बनाएको प्रतिक्रिया दिए ।
चलचित्रको कथा, संवाद, अभिनय, गीत, संगीतलगायत पक्षले मन छोएको दर्शकले प्रतिक्रिया दिए । कतिपय दर्शकहरू चलचित्र हेरिरहँदा आँखाबाट आँशु झारिरहेको र भावुक बनेको भिडियो क्लिपसमेत सामाजिक सञ्जालमा आइरहे । हिन्दी चलचित्रको बोलवाल रहने हाम्रा सिनेमाघरमा यसपालि नेपाली चलचित्रलाई दर्शकले माया देखाए । सधैँ विदेशी चलचित्रको दबदबा खेपिरहेका स्वदेशी चलचित्रका लागि ‘पूर्णबहादुरको सारंगी’ आशाको किरण बनेर आयो भन्दा अतिशयोक्ति नहोला । नेपाली चलचित्रले लगातार माया पाइरहनु उद्योगका लागि एकदमै सुखद र गौरवको कुरा हो । ‘१२ गाउँ’ एक्सन फिल्म चलेपछि अब त्यसको लहर आउँछ कि भन्ने थियो । तर, सोसल ड्रामा ‘पूर्णबहादुरको सारंगी’ले एकदमै राम्रो गर्यो । लगातार यसरी, त्यो पनि अलग अलग विधाका चलचित्र चलेको विरलै पाइन्छ । राम्रो कथा र कन्सेप्ट भयो भने जुनसुकै जनराको चलचित्र पनि चल्छ र लगातार आउँदा पनि चल्छ भन्नेसमेत पुष्टि भएको छ । चाडपर्व लक्षित सिनेमापछि आएका चलचित्र ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’ले पनि दर्शकको साथ पाउन सफल भए ।
नेपाली चलचित्रको ५९ वर्ष लामो इतिहासमा यो वर्ष सिनेमाघरमा उछाल नै आयो । यो वर्षको दशैँ-तिहारमा अहिलेसम्मकै सबैभन्दा बढी दर्शक सिनेमाघरमा आए । पछिल्लो समय नेपाली चलचित्रहरूले पाइरहेको व्यावसायिक सफलता तथा सिनेमाघरहरूमा दर्शकको व्यापक उपस्थितिले स्वदेशी सिनेमा क्षेत्रको भविश्य राम्रो भएको सन्देश दिएको छ । नेपाली चलचित्र क्षेत्र व्यावसायिक उद्योगका रूपमा स्थापित हुने आशा जगाएको छ । यसलाई कतिपयले ‘नेपाली सिनेमाको स्वर्णयुग’समेत भनेका छन् ।
पर्वमा मात्र चलचित्रले दर्शको साथ नपाएर यो वर्षको सुरुवात नै सुखद रहेको थियो । यो वर्षको सुरुमै प्रदर्शनमा आएको ‘बोक्सीको घर’ले बक्स अफिसमा १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको सार्वजनिक भएको थियो । यस्तै, चलचित्र ‘मनसरा’, ‘पुजार सार्की’, ‘फर्कीफर्की’, ‘घरज्वाइँ’, ‘खुस्मा’, ‘गाउँ आएको बाटो’, ‘डिग्री माइला’, ‘शाम्बाला’ लगायतले पनि निकै चर्चा पाए । व्यावसायिक किसिमका चलचित्र र अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गरेर बनेका चलचित्र दुवै चलचित्रहरूले सफलता पाइरहेका छन् ।
त्यसो त अहिले नेपाली चलचित्रको बजार नेपाल मात्र नभएर विदेशका धेरै ठाउँमा पुगेको छ । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगको रूपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ ।
नबुझेर चलचित्र बनाउने, मनलाग्दी निर्माण गर्ने, कथावस्तुलाई सस्तो बनाउनेभन्दा पनि वर्षमा कम तर उत्कृष्ट चलचित्र बन्न जरुरी छ । पक्कै पनि नेपाली चलचित्रका दर्शक फर्किएका छन् । तर, यी फर्किएका दर्शकलाई भड्काउने काम भने नगराँै । बक्स अफिसमा देखिएको उछालले जगाएको आशालाई निभ्न नदिनु यसैसँग सम्बन्धितहरूको जिम्मेवारी हो ।
विशेषतः डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्रविधिमा रिलमार्फत चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्र मात्र प्रदर्शन गरिन्थ्यो । अहिले नेपाल मात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेका छन् । नेपाली चलचित्र अहिले अन्य भाषामा स्वरांकन भएरसमेत विदेशमा प्रदर्शन हुन् थालेका छन् । विदेशमा प्रदर्शन अनुमतिका लागि समयमा नै जाँचपास लिने हो भने विश्वभर जहाँबाट पनि एकसाथ नेपाली चलचित्र प्रदर्शन गर्न सकिने अवस्था छ जुन नेपाली सिनेमाका लागि एकदमै सुखद पक्ष हो ।
आधुनिक प्रविधि र नयाँ विषयवस्तुले स्थान पाउन थालेपछि अहिले चलचित्र हेराइको शैली पनि फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भिडभाडका बीचमा चलचित्र हेर्ने शैली बदलिएर अहिले दर्शकको रोजाइमा सुविधा सम्पन्न चलचित्र भवन पर्न थालेका छन् । अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा समेत आधुनिकता देखिएको छ । सहर मात्र नभई गाउँमा समेत पुराना चलचित्र भवनलाई विस्थापित गर्दै आधुनिक प्रविधिका चलचित्र भवन सञ्चालनमा आइरहेका छन् । पछिल्लो समय अधिकांश नेपाली चलचित्रले बक्स अफिसमा लगातार सफलता पाइरहँदा त्यसको सकारात्मक प्रभाव फिल्मकर्मीहरूमा देखिन थालेको छ ।
नेपाली चलचित्र हेर्न अहिले हलमा पुगेका दर्शकको भिड हेर्दा लाग्छ, अब नेपाली चलचित्रले भोग्दै आएको व्यापारिक शून्यता सकिएको छ । भारतका चर्चित कलाकारका चलचित्रलाई विस्थापित गर्दै नेपाली कलाकारलाई हेर्न दर्शकको भिड जसरी हलमा उर्लिएको छ यसले अब नेपाली चलचित्रमा चुनौती र आशा दुवै थपिदिएको छ । नेपाली चलचित्रमा केही समयसम्म यसरी नै दर्शक देखिए यो वर्ष विदेशी चलचित्रलाई विस्थापित गर्दै नयाँ रेकर्ड बन्नसक्छ । नबुझेर चलचित्र बनाउने, मनलाग्दी निर्माण गर्ने, कथावस्तुलाई सस्तो बनाउनेभन्दा पनि वर्षमा कम तर उत्कृष्ट चलचित्र बन्न जरुरी छ । पक्कै पनि नेपाली चलचित्रका दर्शक फर्किएका छन् । तर, यी फर्किएका दर्शकलाई भड्काउने काम भने नगरौँ । बक्स अफिसमा देखिएको उछालले जगाएको आशालाई निभ्न नदिनु यसैसँग सम्बन्धितहरूको जिम्मेवारी हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता