बर्लिन । युरोकप फुटबलमा अष्ट्रियाले पहिलो जित निकालेको छ । शुक्रबार रातीको खेलमा पोल्याण्डलाई ३-१ गोलले हराउँदै अष्ट्रियाले पहिलो जित निकालेको हो । अष्ट्रियाका लागि गेर्नोट ट्राउनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को एर्नाउटोभिकले एक-एक गोल गर्नुभयो । पोल्याण्डका क्रिस्जटोफ पिएटेकले एक गोल फर्काउनुभयो । खेलको नवौँ मिनेटमा अष्ट्रियाका ट्राउनरले सुरुवाती गोल गर्नुभएको थियो । तर, ३०औँ मिनेटमा पोल्याण्डका क्रिस्जटोफले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो ।
त्यसपछि ६६औँ मिनेटमा बाउमगार्टनर र ७८औँ मिनेटमा एर्नाउटोभिकले गोल गर्दै अष्ट्रियालाई ३-१ गोलको अग्रता दिलाउनुभएको हो । जितसँगै दुई खेलबाट अष्ट्रियाले तीन अंक जोडेको छ । पराजित भएको पोल्याण्ड अंकविहीन हुँदै युरोकपबाट बाहिरिने पहिलो टोली बनेको छ । यो समूहमा रहेका नेदरल्याण्ड्स र फ्रान्सको चार–चार अंक छ । समूह चरणको अन्तिम खेलमा अष्ट्रियाले नेदरल्याण्ड्ससँग तथा पोल्याण्डले फ्रान्ससँग खेल्नेछ ।
यस्तै, युरोकप फुटबलमा युक्रेनले पहिलो जित हासिल गरेको छ । आफ्नो दोस्रो खेलमा गए राती स्लोभाकियालाई २-१ ले हराउँदै युक्रेनले पहिलो जित हात पारेको हो । युक्रेनको जितमा माइकोला शापारेन्को र रोमन यारेमचुकले गोल गर्नुभयो । यता, स्लोभाकियाका लागि इभान श्रान्जले एक गोल गर्नुभयो । खेलको १७औँ मिनेटमा इभानले गोल गर्दै स्लोभाकियालाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । युक्रेनका लागि ५४औँ मिनेटमा माइकोला र ८०औँ मिनेटमा रोमनले गोल गर्दै २-१ ले पहिलो जित दिलाउनुभएको हो । जितसँगै युक्रेनले तीन अंक जोडेको छ । युक्रेन पहिलो खेलमा रोमानियासँग ३-० ले पराजित भएको थियो । स्लोभाकियाले बेल्जियमलाई १-० ले पराजित गरेको थियो । युक्रेनले समूह चरणको अन्तिम खेल २६ जुनमा बेल्जियमसँग खेल्नेछ ।
यसैगरी, नेदरल्याण्ड्स र फ्रान्सले बराबरी खेलेका छन् । शुक्रबार राती सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । केलियन एमबाप्पेबिनाको फ्रान्सले बल पोसेसनमा राखे पनि गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । खेल बराबरीमा सकिएसँगै दुवै टोली नकआउट चरणनजिक पुगेका छन् । दुवै टोलीको दुई खेलपछि चार अंक पुगेको छ । गोलअन्तरमा नेदरल्याण्ड्स समूह ‘डी’ मा शीर्षस्थानमा तथा फ्रान्स दोस्रोमा छ । अष्ट्रिया दोस्रो तथा पोल्याण्ड पुछारमा छ । अब नेदरल्याण्ड्सले अष्ट्रियासँग तथा फ्रान्सले पोल्याण्डसँग खेल्नेछ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता