काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेष्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताउनुभएको छ । बिहीबार टी-२० विश्वकपमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको उहाँले बताउनुभयो । उहाँले अमेरिका र वेष्ट इण्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताउनुभयो । उहाँले राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैँ खुला रहेको बताउनुभयो । उहाँले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिलो गेममा पनि आत्मविश्वास थियो पूरै टिममा । तर, मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन । अमेरिकाको पिच तपाईंले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन । सम्पूर्ण खेलको कुरा गर्दा बलरले राम्रो गर्नुभयो । सबैका लागि ठाउँ खालि छ, राम्रो खेल्नेले अवसर पाउनुहुन्छ । हामीले बेष्ट १५ खेलाडी लिएर गएका थियौँ । ब्याट्सम्यानलाई च्यालेन्ज थियो । ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन । बलरलाई राम्रो ठाउँ थियो, त्यहीअनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ । फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौँ । ब्याटिङमा पनि सुधार गर्न जरुरी छ ।’
अबको विश्वकपका लागि नेपालले राम्रो टोलीसँग तयारी गर्दा नतिजा आउन सक्ने उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय नेपाली टोलीले सुधार गरिरहे पनि देशबाहिर एक्सपोजर पायौँ भने राम्रो गर्न सक्छौँ होला । घरेलु मैदानमा त राम्रो गरिरहेका छौँ, अब क्यानसँग छलफल गरेर बाहिरको मैदानमा एक्सपोजरको जरुरी छ ।’ घरेलु मैदानमा फ्लड लाइट भयो भने आफूहरूलाई सजिलो हुने पनि कप्तान पौडेलले बताउनुभयो ।






