बालेन्द्र साह अर्थात् बालेन काठमाडौं महानगरको मेयर हुनुहुन्छ । काठमाडौं महानगरपालिका हाम्रो देशका छवटा महानगरपालिकामध्येको सबैभन्दा ठूलो महानगरपालिका हो । राजधानी शहरको नगरपालिका भएका कारण काठमाडौं महानगरपालिका सबैभन्दा ठूलो हुनु स्वाभाविक हो । यहाँका प्रमुख बालेन साह निर्वाचित भएर आउँदादेखिकै शैली र परिदृश्यहरू अन्तभन्दा फरक देखापरे । उहाँ स्वतन्त्र रूपमा उठेर निर्वाचित हुनुभएको थियो त्यसलाई नै अपत्यारिलो मानियो । दलीय प्रणाली भएको देशमा र हाम्रोजस्तो दलीय प्रणाली अभ्यासको लामो समय बितिनसकेको र दलहरू नै हावी भइरहेको अवस्थामा पहिलो कुरा विजयी हुनुमात्र पनि आश्चर्यको विषय थियो र झन् निर्वाचित भइसकेपछि पनि स्वतन्त्रै अवस्थामा रहिरहनु अर्को आश्चर्यको विषय बनिरहेको छ ।
यसरी स्वतन्त्र उम्मेदवारहरू कम्तीमात्र विजयी हुने दलीय प्रणालीमा निर्वाचित भएका केही थोरै प्रतिनिधिहरू पछि दलहरूको प्रलोभनमा परेर वा आपूm स्वतन्त्र नै रहिरहँदा काम गर्न नसक्ने अवस्था सिर्जना हुने देखेर कुनै न कुनै दलमा प्रवेश गर्ने गरेको अवस्थामा काठमाडौं महानगरपालिकाबाट प्रमुखमा निर्वाचित हुनुभएका बालेन साह पनि अब कुनै दलमा प्रवेश गर्नुहुन्छ होला भन्ने धेरैको अनुमान थियो । तर, निर्वाचित भएको दुई वर्षसम्म उहाँ स्वतन्त्र रहिरहनुभएको छ र अब पनि उहाँ कुनै दलमा प्रवेश गर्नुहोला भन्नेजस्ता कुनै पनि सम्भावना देखिएका छैनन् । दलमा नभएका कारणले नै हुनसक्छ उहाँ दलीय अनुशासनमा बाँधिनु परेको छैन ।
स्वतन्त्र भन्नाले एक प्रकारले एक्लो हुनु हो भन्ने पनि अर्थ लाग्छ र एक्लो भएपछि काम गर्न असहज हुनु स्वाभाविक हुन्छ । बालेन साहका हकमा उहाँ एक्लो भएर पनि काममा लागिरहनु भएको छ र अनेकौं प्रकारका चुनौतीहरूको सामना गरेर पनि आफ्ना काममा अगाडि बढिरहनुभएको छ । यस अगाडिका कुनै पनि मेयरले नगरेको छोपिएका ढुंगेधारा, पोखरी र खोलाहरूको उत्खनन् गर्नेजस्ता काममा उहाँले तदारुकता देखाउनुभयो र समर्थन पनि पाउनुभयो । कतिपय ठाउँमा त जसको घर जग्गा र घर परिसरमा महानगरको डोजर चलेको छ उसैको समर्थन पाएको अवस्था पनि देखियो । तिनैले उहाँको प्रशंसा गरिरहेको अवस्था एक प्रकारले उहाँको सफलता हो भनेर मान्नुपर्ने हुन्छ । सार्वजनिक जग्गा मिचेर बनाइएका निजी घर, सरकारी वा अर्धसरकारी निकायहरू रहेका ठाउँँहरूमा पनि महानगरको डोजर चलिरहेका छन् ।
त्यस्तो अवस्थामा त्यहीका केही सीमित मानिसहरूले विरोध गरे पनि ठूलो जनसमूह जम्मा भएर प्रतिकार गरेको अवस्था कतै पनि देखिन आएको छैन । यस अर्थमा उहाँले उठाएका कदमहरू जायज रहेछन् भन्ने पुष्टि हुन आउँछ । अदालतले गर्ने स्टेअर्डर, सरकारको समर्थन नहुनु र आफ्नै नगर कमिटीमा दलका मात्रै प्रतिनिधिहरू जितेर आएका कारण उहाँ अल्पमतमा रहनुजस्ता अनेकौं असजिला अवस्था छन् । तिनको सामना गरेर पनि उहाँका कदमहरू अगाडि बढिरहेका छन्, रोकिएका छैनन् । यसअघि केशव स्थापित महानगरपालिकाको प्रमुख भएका बेलामा पनि यस्ता केही प्रयासहरू भएका थिए तर त्यस बेला सरकारको निर्देशनमा त्यसो गरिएको थियो ।
त्यस बेला शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने प्रचलन थियो र अदालतबाट स्टेअर्डर लिन अदालत खुला हुनुपर्ने भएका कारण स्थापित शुक्रबार ३ बजे कार्यालय छुट्टी भएपछि अवैधानिक ढंगले बनाइएका संरचनाहरू भत्काउन डोजर पठाउने गर्नुहुन्थ्यो । सोमबार बिहान अदालत खुलेर स्टेअर्डर लिउन्जेल तीन दिन तीन रातमा यस्ता धेरै संरचनाहरू हटाउने काम भइसकेको हुन्थ्यो । हालका महानगरप्रमुखमा कामको हुटहुटी छ तर कतिपय अवस्थामा उहाँका कदमहरू अर्घेला र उत्ताउलाजस्ता देखिने गरेका छन् । वैकल्पिक व्यवस्था नगरी भत्काउने र हटाउनेमात्र गरेर शहर सुन्दर देखिनुको सट्टा झन् कुरूप देखिन पनि सक्छ ।
हाल कबाड व्यवसायीहरूलाई महानगरपालिकाको चक्रपथभित्र रहेर व्यवसाय गर्न नदिने गरी चालिएको कदमले एकातिर तिनीहरू आन्दोलित भएका छन् भने अर्कातिर कबाड विस्थापन सर्वसाधारणहरूको पनि आवश्यकता हो । भोलिका दिनमा कबाड उठेन भने घरघरमा त्यो बोझिलो बनेर रहन्छ र बिस्तारै मानिसहरूले सडकमा फाल्न थाले भने शहर सुन्दर देखिनुको सट्टा कुरूप बन्न जाने सम्भावना रहन्छ । सडकपेटीका व्यापारी व्यवसायीहरू हटेपछि अहिले सडक पैदलयात्रीहरूका लागि सहज बन्नपुग्नुका साथै सफा र सुन्दर पनि बनेको भए पनि तिनको खोसिएको व्यवसायको विकल्पबाट उनीहरूको जीविका चल्न सकेको छ कि छैन त ? त्यसतर्फ पनि ध्यान दिनु आवश्यक छ । महानगरप्रमुख साहको पछाडि ठूलो जनसमर्थन छ ।
पृष्टभूमिमा प्राप्त जन समर्थनले मात्र मेयर साहले कतिपय बेला ठिट्यौलेपन देखाउनुभएको निश्चय पनि होइन होला । ठिट्यौले पारा परित्याग गर्नसके र संयम, धैर्य, सुझबुझ र समन्वयका साथ अगाडि बढ्ने हो भने निर्विवाद रूपमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले अझै धेरै काम गर्न सक्नुहुनेछ । प्राविधिक क्षेत्रको व्यक्ति एकाएक राजनीतिमा आउनुभएको साहबाट राष्ट्रले पनि केही प्राप्ति गर्न सक्नेछ र उहाँको पनि राजनीतिक उचाइ अझै अग्लिँदै जानेछ । बेला-बेलामा देखाउने गरेका उत्ताउला काम र दिने गरेका हेपाहा अभिव्यक्तिले भने उहाँको लोकप्रियतालाई बढावा दिन सक्दैनन् । उहाँले कानुनको पालना गरी सरकार र दलहरूसँग समन्वयका साथ धैर्य भएर अघि बढ्ने हो भने राष्ट्रका अझै धेरै अपेक्षाहरू पूरा हुन सक्नेछन् । प्रशंसाका नाममा अरूले गर्ने देवत्वकरणबाट भने उहाँ आफैं जोगिनु आवश्यक छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता