काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेशसँग हार हुँदा आफूले एक सय विकेट लिए पनि व्यर्थ लागेको बताउनु भएको छ ।
सोमबार बिहान वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको थियो।
खेलपछि बोल्दै सन्दीपले टोलीको हारका कारण आफ्नो कीर्तिमानको खासै महत्व नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘दुई महत्वपूर्ण विकेट हात पार्दा हामी बलियो स्थितिमा थियौँ। तर खेल आफ्नो पक्षमा आउन नसक्दा भने आफ्नो विकेट पनि व्यर्थ भएजस्तो महसुस भएको छ। हाम्रो ब्याटिङ हेर्दा निकै दुःख लागेको छ। किन कि यो जित्नुपर्ने खेल थियो।’
उहाँले नेपालमा रहेका समर्थक पनि आफूहरुको प्रदर्शनबाट खुसी नभएको प्रतिक्रिया दिनुभयो। ‘हामीले यसलाई मनदेखि लिएर आउने दिनमा यस्तो अवसर आए सदुपयोग गर्ने प्रण गर्नेछौँ,’ उहाँले भन्नुभयो ।
मैदानमा फर्कन पाउँदा एकदम राम्रो लागेको बताएका सन्दीपले अमेरिकामा सम्पन्न विश्वकपका खेलमा सहभागी हुन नपाउँदा दुख लागेको पनि बताउनुभयो। सो खेलमा सन्दीपले चौधौँ ओभरको दोस्रो बलमा तान्जिम अल हसनलाई ३ रन बनाउँदा बोल्ड आउट गर्दै ९९ विकेट लिएका थिए। १६ औँ ओभरको तेस्रो बलमा बंगलादेशका जाकर अलीको विकेट लिर्दै सन्दीपले टी–२० आईमा १ सय विकेट पूरा गरेका थिए।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता