
काठमाडौं । एक दशकपछि आइसिसी टी-२० विश्वकपमा फर्किएको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । टी-२० विश्वकप-२०२४ को आफ्नो अन्तिम खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल जितविहीन रहेर बाहिरिएको हो । सोमबार बिहान सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भयो । बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमै समेटियो । जितसँगै बंगलादेश भने सुपर ८ मा प्रवेश गरेको छ ।
१५ बलमा २२ रन चाहिएको अवस्थामा लगातार ११ डट बल खेल्दै नेपालले हार बेहोरेको हो । नेपालले ११ बलमा अन्तिम चार विकेट गुमाएको थियो । अन्तिम तीन ओभरमा नेपाललाई जितका लागि २९ रन चाहिएको थियो । नेपालले १८औँ ओभरमा ७ रन ल्याउन सफल भयो । १९औँ ओभरमा एक रन पनि जोड्न सकेन । ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरी ३१ बलमा २५ रन बनाएर आउट हुनुभयो । अन्तिम ओभरको पहिलो बलमा सोमपाल कामी शून्यमै आउट हुनुभयो । दोस्रो बलमा अविनाश बोहोरा पनि आउट भएपछि नेपाल पराजित भयो ।
यसअघि ओपनर कुशल भुर्तेल ४ रन बनाएर बोल्ड हुनुभएको थियो । अनिल साहको ब्याट पनि चलेन । उहाँ तेस्रो ओभरमा शून्यमा आउट हुनुभयो । कप्तान रोहित पौडेल १ रन बनाएर फर्किनुभयो ।
आशिफ शेख १४ बलमा ४ चौकासहित १७ रन बनाएर आउट हुनुभयो । सन्दीप जोराले पनि सम्झनलायक ब्याटिङ गर्न सक्नुभएन । पाँचौँ विकेटका लागि कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी मिलेर ५२ रनको साझेदारी गर्नुभएको थियो । २६-५ को अवस्थाबाट इनिङ उकास्नुभएका साझेदारी कुशल मल्ल आउट भएसँगै नेपालले लय गुमाएको थियो । कुशल मल्लले ४० बलमा १ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाउनुभयो । ३१ बल खेल्नुभएका ऐरीले २५ रन बनाउनुभयो ।
बंगलादेशका लागि तान्जिम हसन सकिबले ४ ओभरमा २ मेडनसहित ७ रन दिएर ४ विकेट लिनुभयो । मुस्तफिजुर रहमानले ४ ओभरमा १ मेडनसहित ७ रन नै दिएर ३ विकेट लिनुभयो । शाकिब अल हसनले २ विकेट लिनुभयो भने १ विकेट तास्किन अहमदको नाममा रहृयो ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १०६ रन बनाएको थियो । नेपाली बलरहरूले सानदार बलिङ गरेका थिए । नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दिप लामिछानेले समान २-२ विकेट लिनुभयो । कप्तान रोहितले ४ ओभरमा २० रन खर्चिएर दुई विकेट लिनुभयो । सन्दिपले ४ ओभरमा १ मेडनसहित १७ रन दिनुभयो ।
यस्तै, कुशल भुर्तेलले ४ ओभरमा २२ रन दिएर कुनै विकेट लिन सक्नुभएन । १९औँ ओभरमा पहिलो ओभर बलिङ गर्नुभएका अविनाश बोहोराले १ ओभरमा १० रन खर्चिनुभयो । यसअघि नेपाल नेदरल्याण्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकासँग १ रनले पराजित हुँदा श्रीलंकासँग वर्षाका कारण १-१ अंक बाँडेको थियो ।
१० वर्षअघि बंगलादेशमा भएको विश्वकपमा नेपालले पहिलोपटक भाग लिएको थियो । आयोजक राष्ट्रसँग झिनो रनरेटमा पछि रहँदा नेपाल दोस्रो चरणमा पुग्न सकेन । तर, त्यो विश्वकपमा हङकङ र अफगानिस्तानमाथि सनसनी जित निकाल्न सफल भएको थियो ।
सन्दीपको सय विकेट
सन्दीप लामिछानेको टी-२० क्रिकेटमा सय विकेट पूरा भएको छ । जारी विश्वकप टी-ट्वान्टी विश्वकप समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध २ विकेट लिँदै सन्दीपले टी-ट्वान्टीमा सयौं विकेट पूरा गर्नुभएको हो । टी-ट्वान्टी आईमा यो सन्दीपको ५४औँ खेल हो । टी-ट्वान्टी आईमा सयौं विकेट पूरा गर्ने उहाँ पहिलो नेपाली खेलाडी हो । टी-ट्वान्टी आईमा छिटो एक सयौं विकेट पूरा गर्नेमा सन्दीप विश्वकै दोस्रो खेलाडी बन्नुभएको छ । अफगानिस्तानका कप्तान रसिद खानले आफ्नो ५३औँ खेलमा सयौं विकेट लिनुभएको थियो ।
राम्रो ब्याटिङ गर्नबाट चुक्यौँ : कप्तान रोहित
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा राम्रो ब्याटिङ गर्न नसकेको स्वीकार गर्नुभएको छ । ‘बलिङ युनिटका रूपमा हामीले साँच्चै राम्रो ग¥यौँ । ब्याटिङ युनिटका रूपमा हामीले अझ राम्रो गर्न सक्थ्यौं । विशेष गरी शीर्ष क्रमका ब्याट्सम्यानहरूले,’ उहाँले भन्नुभयो । बंगलादेशका बलरले नयाँ बलमा राम्रो बलिङ गरेपछि नेपालको ब्याटिङ लाइन दबाबमा परेको उहाँले बताउनुभयो । ‘बंगलादेशले नयाँ बलमा राम्रो बलिङ गर्यो र त्यसपछि हामी दबाबमा पर्यौँ । हामीले त्यसपछि सानो साझेदारी बनायौँ तर शीर्षक्रमका ब्याट्सम्यानहरूले राम्रो गर्न सक्थे र थप जिम्मेवारी लिन सक्थे । हामीले स्टेप अप गर्न आवश्यक छ, कहाँ रन स्कोर गर्ने र कसरी अवस्थाको मूल्यांकन गर्ने भनेर जान्न आवश्यक छ,’ उहाँले भन्नुभयो ।
सुपर-८ समीकरण पूरा
वेष्ट इण्डिज र अमेरिकामा जारी आइसिसी टी-२० विश्वकपको सुपर-८ समीकरण पूरा भएको छ । पहिलो चरणबाट आठ टिम सुपर एटमा पुगेका छन् भने १२ टिम बाहिरिएका छन् । सुपर एटमा पुगेका टोलीलाई दुईवटा समूहमा बाँडिएको छ ।
भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश ग्रुप १ मा छन् । ग्रुप २ मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेष्ट इण्डिज छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
वेष्ट इण्डिज र इंग्ल्याण्ड प्रतियोगिताको इतिहासमा सर्वाधिक दुई/दुई पटकका विजेता हुन् । अष्ट्रेलिया र भारतले पनि एक-एकपटक जितेका छन् । सुपर-८ पुगेका दक्षिण अफ्रिका, बंगलादेश, अमेरिका र अफगानिस्तानले भने उपाधि जित्न सकेका छैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच