एजेन्सी । इंग्लिस क्लब ब्राइटनले जर्मनीका फेबियन हर्जेलरलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । ब्राइटन र हर्जेलरबीच तीन वर्षको सम्झौता भएको छ । क्लबले रोबर्टो डी जर्बीको स्थानमा हर्जेलरलाई भित्र्याएको हो ।
डी जर्बीले सिजनको अन्त्यसँगै क्लब छाड्नुभएको थियो । ३१ वर्षीय हर्जेलरको प्रशिक्षणमा सेन्ट पाउलीले गत सिजन जर्मन बुन्डेसलिगा २ को च्याम्पियन बनेको थियो ।
यो सिजन पाउलीले ३४ मध्ये २० खेल आफ्नो पक्षमा पारेको थियो । यससँगै हर्जेलर प्रिमियर लिगमा सबैभन्दा कान्छा पूर्णकालीन प्रशिक्षक बन्नुभएको छ ।






