पोस्टरपछि टिजरबाट पनि उत्कृष्ट प्रतिक्रिया बटुल्दै चलचित्र ‘सतीदेवी’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । फर्स्टलुक पोस्टरबाटै चर्चामा रहेको फिल्म ‘सतीदेवी’ को हालै टिजर सार्वजनिक गरियो । बिभिन्न महोत्सवमा सर्वाेत्कृष्ट फिल्म, निर्देशक, स्क्रिप्ट अनि अभिनेत्रीको अवार्ड जितिसकेको ‘सतीदेवी’ को टिजरले अहिले सर्वत्र तारिफ पाइरहेको छ । साढे २ मिनेट लामो टिजरमा छोरीहरु मात्रै जन्मिदा समाजले हेर्ने दृष्टिकोण, अभिभावकले गर्ने भेदभाव तथा छोरीहरुले आफ्नो परिवारका लागि उठाउने जोखिमको बिषयलाई कलात्मकरुपमा चित्रण गरिएको छ ।

निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको शीर्ष भूमिकामा मलिका महत छिन् । उनको साथमा फिल्ममा दुई बालकलाकार हर्षिका वली र मञ्जिला बानीयाँ, कुलबहादुर अधिकारी, सृजना अधिकारी, रमेश बुढाथोकी, भोलाराज सापकोटा, सन्दिपबाबु लोहनी, सुजिता शिबाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतका कलाकारको अभिनय छ ।

ओएसआर डिजिटलमार्फत दर्शकमाझ ल्याइएको टिजरमा समाबेश ‘यो जुनी त यस्तै भयो,अर्काे जुनी दिन्छौं भने हे इश्वर मलाई छोरा बनाइदिउ, म मेरो बा-आमाको खुशी बन्न चाहन्छु’ भन्ने अभिनेत्री मलिकाको संवाद अहिले निकै चर्चामा छ । त्यसैगरी, टिजरको सुरुवातमै एक पुरुष कलाकारको माध्यमबाट सतीदेवीको परिचय दिइएको छ-‘नाम सतीदेवी अधिकारी । उमेर १९ । हुलिया-ज्याद्रै राम्री..आम्मामा..’ यो संवाद पनि युवामाझ चर्चित हुदै गइरहेको छ । त्यसैगरी, बालकलाकार हर्षिकाले रुदै रुखमा ढुंगा हान्दै बोलेको ‘यी ढुंगा हाम्रो बालाई कुट्ने कुकुरहरुको टाउकै टाउकोमा लागोस्’ भन्ने संवादले पनि दर्शकको मन छोएको छ । युट्युव तथा फेसबुकमा ‘सतीदेवी’ को टिजरमा लगभग सतप्रतिशत सकारात्मक कमेन्ट आएका छन् । ती मध्ये अधिकांशले टिजरले भावुक बनाएको, रुवाएको, यो फिल्म हेर्नै पर्ने लिष्टमा राखेको प्रतिक्रिया जनाएका छन् ।

ADVERTISEMENT

निर्देशक सुवेदी टिजरबाट पाइरहेको दर्शकको प्रतिक्रियाबाट आफू निकै उत्साहित भएको बताउछन् । ‘जति पनि दर्शक, चलचित्रकर्मी, संचारकर्मी, आफन्तले टिजर हेर्नुभएको छ, अत्यन्तै सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ सुवेदी भन्छन्,‘फिल्म अत्यन्तै मार्मिक बिषयमा निर्माण गरेका छौ । टिजरमा समावेश संवाद, दृश्यहरु प्रतिनिधि हुन् । असार दोश्रो साता सार्वजनिक हुने ट्रेलरले अलि बिस्तृत कुरा खोल्नेछ । पूरा कथा बुझ्न, महसुस गर्न भने साउन ४ सम्म कुर्नै पर्छ ।’ लेखक तथा गीतकारसमेत रहेका सुवेदीले ‘सतीदेवी’ छोरीहरुमा समर्पित फिल्म भएको बताउछन् । ‘हाम्रो समाजमा छोरा र छोरीमा हुने गरेको प्रतिनिधि घटनाहरुको प्राणयुक्त चित्र हो यो फिल्म,’ उनको भनाइ छ,‘यो एउटा चलचित्र मात्रै होइन, पृथ्वीमा मानव सभ्यता रहुँञ्जेल नमेटिने पितृसत्तात्मक सोचबिरुद्धको अवाजसमेत हो ।’ फिल्मले छोरी मान्छेलाई सम्मानजनक जीवन जिउन प्रेरित गर्ने दावी उनको छ ।

दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयासँग सहकार्य गरेको फिल्मको निर्मातामा श्रीदेवी, बिशाल, दिलासा र सारा सुवेदी छन् । साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको बितरण एफडी र रिच इन्टरटेन्मेन्ट गर्दैछ । साउन ४ मा एकल प्रदर्शनमा आउने यो फिल्म आमदर्शकको प्रतिक्षामा पर्न सफल भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?