सहयोग रकमले बन्यो काली सुनारको नयाँ घर

रासस
रासस
Read Time = 3 mins

बागलुङ । गलकोट नगरपालिका-७ मल्म आरानटोलकी ७८ वर्षीया काली सुनारको परिवार वर्षौंदेखि चुहिने छानो भएको एककोठे घरमा बस्दै आएको थियो ।

एउटै कोठामा छजना नातिनातिना र एक अपाङ्ग बुहारीसहित आठजना बस्दै आउनुभएकी उहाँले आफ्नै जीवनकालमा नयाँ घरमा बस्न पाउँछु भनेर कल्पनासमेत गर्नुभएको थिएन । सुनारका दुई छोरा सम्पर्कविहीन छन् भने एक छोरा जेलमा छन् । समुदायसँग हात थापेर जीविका चलाउँदै आउनुभएकी सुनारको परिवारले नयाँ घर पाएका छन् ।

गाउँकै ज्ञानबहादुर थापाको पहलमा उहाँको परिवारलाई नयाँ घर निर्माण गरिएको हो । “वृद्धावस्थामा नयाँ घर मिलेको छ, नातिनातिनालाई ओत लगाउन पाएँ, तीन छोरा भएरसमेत सुखको अनुभूति गर्न पाएको थिइनँ । १२ वर्षअघि भारत गएको जेठो र माइलो छोरा फर्केर आएनन्, कान्छो जेलभित्र छ,” सुनारले भन्नुभयो, “अब बल्ल बासको पीर हट्यो ।”

ADVERTISEMENT

थापाले एउटै कोठामा आठजनाको परिवार कोचिएर बसेको तस्बिर सामाजिक सञ्जालमा राखेर सहयोगको अपिल गर्नुभएको थियो । “बेलाबेलामा खाद्यान्न, जस्तापाता सहयोग गरिएको थियो, तर सुरक्षित आवास नहुँदा समस्या थियो, एक दिन बिहानै काली सुनारको घरमा पुग्दा अगेना छेउमै आठजना कोचिएर सुतेको देखेपछि सामाजिक सञ्जालमा तस्बिर राखेँ,” थापाले भन्नुभयो, “धेरैले घर बनाइदिनूहोस् हामी सहयोग गर्छौं भन्ने आश्वासन दिनुभयो । स्थानीय युवाहरुको साथ सहयोगमा नयाँ घर निर्माण गर्न सफल भयौँ ।”

घर बनाउन सुरुमा प्रगति आधारभूत विद्यालयले अभिभावक भेलामा रु २५ हजार पाँच सय सङ्कलन गरेको थियो । त्यही पैसाले घर बनाउने काम थालेको उहाँको भनाइ छ । अहिले अधिकतम रु पाँच हजारदेखि दुई हजारसम्म सहयोगको प्रतिबद्धता धेरैले जनाउनुभएको थापाले जानकारी दिनुभयो । चार कोठाको घर निर्माण सम्पन्न भइसकेको थापाले बताउनुभयो । उहाँका अनुसार गलकोट नगरपालिकाको विपद् व्यवस्थापन शाखालेसहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

सुनारले वृद्धभत्ताको रकम नातिनातिनीको पढाइमा खर्च  गर्दै आउनुभएको छ । सुनारको परिवारलाई गाँस, बास, कपास र शिक्षाको व्यवस्था मिलाउने गरी सहयोग सङ्कलन अभियान जारी रहेको थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *