सालझण्डी-ढोरपाटन सडक : डेढ दशकमा ३० प्रतिशत मात्रै काम

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । सालझण्डी-ढोरपाटन सडक आयोजानको काम १४ वर्षमा ३० प्रतिशत मात्रै सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि वि.सं. २०६७ सालदेखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो । रुपन्देहीको सालझण्डीदेखि सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ गरि पाँच जिल्लालाई जोडेको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने मुख्य मात्रका रुपमा रहेको यस सडक ट्रयाक खुलेदेखि स्तरोन्नति हुन सकेको छैन ।

सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर लामो रहेको यस सडक हालसम्म १८ किलोमिटर मात्रै कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ । त्यस मध्ये रुपन्देहीमा साढे चार किलोमिटर र अर्घाखाँचीमा साढे १३ किलोमिटर मात्रै सडक कालोपत्र भएको सालझण्डी-ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इन्जिनियर कृष्टिना थापाले जानकारी दिनुभयो । अहिले पाँच वटै जिल्लाको विभिन्न खण्डमा ग्राभेलिङसहितको काम भइरहेको उहाँको भनाइ छ ।

इन्जिनियर थापाका अनुसार बागलुङको बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किमी ग्राभेल हुँदैछ भने रुपन्देही र पाल्पाको खण्ड अन्तरगत कञ्चनखोलादेखि खुर्सानेसम्म साढे १३ किलोमिटर कालोपत्र भइरहेको छ । थापाले पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पतौटसम्मको२२ किलोमिटर सडक पनि कालोपत्र भइरहेको जानकारी दिनुभयो ।

ADVERTISEMENT

त्यस्तै अर्घाखाँचीको माटेदेखि भण्डारासम्म सात किलोमिटर, गुल्मीको पुर्कोटदहदेखि सिर्सेनीसम्मको १९ किलोमिटर कालोपत्र भइरहेको उहाँको भनाइ छ । सिर्सेनीदेखि गुल्मीको अर्खबाङसम्मको ८.२ किलोमिटर सडकसमेत कालोपत्र भइरहेको भन्दै अब अर्घाखाँचीमा १८, गल्मी र बागलुङ सात/सात गरि ३२ किलोमिटर सडक स्तरोन्नतीको काम अझै सुरु नभएको थापाले बताउनुभयो । पार्यप्त बजेट नआउँदा आयोजनाको प्रगति कम भएको उहाँ बताउनुहुन्छ ।

ट्रयाक खुलको लामो समयसम्म सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नु परेको ढोरपाटन नगरपालिका-९ का बमबहादुर सुनारले बताउनुभयो । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधान बीच बाटोमै बिग्रिने हुँदा अलपत्र पर्ने गरेको उहाँको भनाइ छ । बर्खाको समय ठप्प हुने भन्दै हिउँदको समयमा पनि यातायातका साधान सहज रुपमा सञ्चालन हुन नसक्ने सुनार बताउनुहुन्छ ।

“यो विकट ठाउँमा सडक आएपछि ठूलो राहत मिलेको छ, तर यतिका समयसम्म पिच नहुँदा यहाँका हजारौँ स्थानीय र पर्यटकले दुःख पाउँदै आएका छन्, टाढा-टाढाबाट पर्यटक ढोरपाटन घुम्नका लागि आउँछन् तर बाटोको दुरावस्थाले गर्दा अर्को पटक आउने सोच धेरैले बनाउँदैनन्” उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज