काठमाडौं । आईसीसी टी–२० विश्वकप वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा ३९ रनमा अलआउट भएको छ ।
टस जितेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा पुरै १७३ रन बनाएको थियो। १७४ रनको लक्ष्य पछ्याएको गुगान्डा १२ ओभरमा सबै विकेट गुमाएर ३९ रनमा समेटिएको हो।
युगान्डाका लागि वेस्ट इन्डिजविरुद्ध जुमा मियागीले १३ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
युगान्डालाई सस्तैमा समेट्न वेस्ट इन्डिजका अकेल होसेनले एक्लै ५ विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दै मात्र ११ रन दिए। अल्जारी जोसेफले दुई विकेट लिए भने रोमारियो शेफर्ड, गुडाकेश मोती र आन्द्रे रसेलले एकएक विकेट हात पारे।
वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले सर्वाधिक ४४ रन बनाए। ४२ बलको सामना गरेका उनले चार चौका र दुई छक्का प्रहार गरे। अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेका आन्द्रे रसेलले नटआउट १७ बलमा ६ चौकाको मद्दतमा ३० रन बनाए। कप्तान रोभम्यान पावेलले २३ रन जोड्दा निकोलास पुरन र शेर्फेन रदरफोर्डले समान २२–२२ रन बनाए। ब्रान्डन राजाले १३ रन जोड्दा रोमारियो शेफर्डले नटआउट ५ रन थपे।
वेस्ट इन्डिजविरुद्ध युगान्डाका ब्रायन मसाबाले दुई विकेट लिएका थिए भने अल्पेश रामजानी, कसमस किवाटा, दिनेश नक्रानीले समान एकएक विकेट हात पारे।
समूह ‘सी’मा वेस्ट इन्डिज, युगान्डा, अफगानिस्तान, पपुवा न्युगिनी र न्युजिल्यान्ड छन्।







